अविरल वर्षा र हावाहुरीले वृन्दावन–१ र २ मा क्षति, मठको धर्मशालादेखि किसानको बालीसम्म नष्ट

     रुपेन्द्र पटेल
रौतहट, २० असोज । अविरल सँगै आएको हावाहुरीका कारण रौतहटको वृन्दावन नगरपालिका क्षेत्रमा ठूलो क्षति भएको छ । शनिबार दिनभर आएको हावाहुरी र निरन्तर वर्षाले वृन्दावन नगरपालिका वडा नं–१ बलेरीस्थित शिव मन्दिर मठको धर्मशाला भत्किएको छ ।

मठका पुजारी रोशनलाल पटेलका अनुसार उक्त धर्मशाला बोलबम कावरियाले निर्माण गरेको धार्मिक आवास थियो, जहाँ बाहिरबाट आउने बटुवा र भक्तजनहरू बसोबास गर्थे । “धर्मशाला भत्किएपछि भक्तजन बस्ने ठाउँ नै रहेन, अहिले खुला ठाउँमा बास बस्नुपर्ने अवस्था छ,” पुजारी पटेलले बताए ।

धर्मशाला ढलेपछि मठ परिसरमा आउने धार्मिक पर्यटकका लागि बसोबासको सुविधा पूर्ण रूपमा नष्ट भएको छ । स्थानीयले तत्काल धर्मशालाको पुनःनिर्माण र भक्तजनका लागि अस्थायी आवासको व्यवस्था गर्न माग गरेका छन् ।

त्यस्तै, सोही वडाको भोटे टोलमा रहेको वीरेन्द्र यादवको गोठ पनि वर्षा र हावाहुरीका कारण भत्किएको छ । यादवको खासै क्षती नभएपनि गोठमा रहेका सामग्री नष्ट भएका छन् ।

यसैबीच, वडा नं–१ रमौली बैरियास्थित रामटोलका रुपलाल रामको घर समेत शनिबार भत्किएको छ । वडाअध्यक्ष रामनाथ सहनीका अनुसार घर भत्किँदा अन्नपात, लत्ता–कपडा र घरेलु सामग्री पूर्ण रूपमा नष्ट भएका छन् । “रुपलाल राम अति विपन्न परिवार हुन्, घर भत्किएपछि उनी परिवारसहित आफ्ना भाइको घरमा आश्रय लिन बाध्य भएका छन्,” सहनीले जानकारी दिए ।

विपन्न परिवारलाई तत्काल राहत र पुनःनिर्माण सहयोगको व्यवस्था गर्न स्थानीयवासीले सरकार र सम्बन्धित निकायसँग माग गरेका छन् ।

वडा अध्यक्ष सहनीका अनुसार रमौली बैरियाको थारु टोलमा बर्सातको पानी पस्दा धेरै घरका आँगन र गोठहरूमा पानी जमिएको थियो । हाल जमेको पानी निकालिएको छ ।

अविरल वर्षा र हावाहुरीले वृन्दावन नगरपालिकाका किसानहरुले खेतमा लगाइएको धान ढलेर पानीमा डुबेको छ । धान भित्र्याउने समयमा आएको वर्षा र हावाहुरीका कारण किसान चिन्तित बनेका छन् ।

वृन्दावन–१ का किसान वैद्यनाथ पटेलले भने, “धान पहेँलपुर भएर काट्ने बेला थियो, तर यो वर्षाले सबै खेतमा पानी जम्मा गरिदियो। धान ढल्यो, अब कुहिने डर छ ।”

स्थानीय किसानका अनुसार खेतमा पानी जमेकाले धान कुहिने, अंकुर फूट्ने र उत्पादनमा ठूलो ह्रास आउने सम्भावना बढेको छ ।
वृन्दावन–१ स्थित बागमती बगरका किसानहरू थप संकटमा परेका छन् । बगरमा लगाइएका दलहन, तिलहन, बदाम, धान र मकैजस्ता बालीहरू बाढीले पूर्ण रूपमा नष्ट पारेको स्थानीय किसानहरूले बताएका छन् ।
“बागमती नदीमा आएको बाढीले सबै बाली बगाएर लगेको छ ।
यता वृन्दावन नगरपालिका वडा नं–२ का वडाध्यक्ष सिकेन्द्र पटेलका अनुसार सो वडाका केही बस्तीमा समेत पानी पसेर स्थानीय प्रभावित भएका छन् ।
वडा नं–२ को चाँदी खोलामा पनि बाढीले व्यापक कटान गरेको छ । स्थानीय वडाअध्यक्ष पटेलका अनुसार धनगढीस्थित चाँदी खोलाको तटबन्ध नबनाए आगामी बाढीमा गाउँमा नै पानी पस्ने उच्च सम्भावना रहेको छ ।

वृन्दावन नगरपालिकाका विभिन्न वडामा वर्षा र हावाहुरीका कारण घर, गोठ र खेतीमा भएको क्षति व्यापक रहेको छ । स्थानीय जनप्रतिनिधिहरूले तत्काल राहत, क्षति मूल्यांकन र पुनःनिर्माणका लागि प्रदेश र संघीय सरकारलाई आग्रह गर्नु पर्ने आवश्यता रहेको स्थानी समाजसेवी सुरेन्द्र पटेलको भनाइ रहेको छ ।

ताजा समाचार

Related Articles