जनकपुर, १७ असोज । मधेस प्रदेश सरकारले सात वर्षअघि ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ अभियान अन्तर्गत सुरु गरेको छोरी शिक्षा बीमा कार्यक्रम चालु आर्थिक वर्ष २०८२/८३ मा बजेट अभावका कारण स्थगित गरिएको छ।
प्रदेश सरकारले यो वर्षको बजेटमा कार्यक्रमका लागि रकम नै विनियोजन नगरेपछि कार्यान्वयन रोकिएको शिक्षा विकास निर्देशनालयले जनाएको छ। कार्यक्रमका संयोजक प्रियंका यादवका अनुसार बजेट अभावले नियमित प्रक्रिया अघि बढाउन नसकिएको हो।
निर्देशनालयका तथ्याङ्कअनुसार हालसम्म १४ हजार ४५३ जना छोरीको बीमा गरिएको छ। आर्थिक वर्ष २०७५/७६ मा पाँच हजार ६६६, आव २०७८/७९ मा एक हजार ७०२, आव २०७९/८० मा तीन हजार ३०२ र आव २०८०/८१ मा तीन हजार ७८३ जना लाभग्राही बनेका थिए।
तर अझै करिब १० हजार छोरीको बीमा प्रिमियम तिर्न बाँकी रहेको संयोजक यादवले बताइन्। एक जना छोरीको बीमा गर्दा रु ३७ हजार ४५७ प्रिमियम तिर्नुपर्ने प्रावधान छ।
यसरी प्रदेश सरकारले निरन्तरता नदिँदा आर्थिक रूपले कमजोर परिवारका छोरीहरूलाई शिक्षा सुनिश्चित गर्ने उद्देश्यमा असर परेको सरोकारवालाहरूको भनाइ छ।

