रुपेन्द्र पटेल
रौतहट, ८ असोज । रौतहटमा पुनः काठ तस्करी समूह सक्रिय भएको छ । जिल्लाको धन्सर सव–डिभिजन वन कार्यालयको गस्ती टोलीले अवैधरुपमा काटिएको सालको गोलियासहित बोलेरो गाडी बरामद गरेको छ ।
मंगलबार राति करिब साढे ८ बजेतिर लमहा पुलदेखि पश्चिमतर्फको लच्का (कजवे) नजिकैको उत्तरतर्फको जंगलमा गस्ती टोली पुगेको थियो । त्यहाँ तस्करहरु सालका रुख कटान गरी ना. ४ च. ४६९१ नम्बरको महिन्द्रा बोलेरो गाडीमा काठ लोड गरिरहेको अवस्थामा भेटिएका थिए ।
गस्ती टोलीले चारैतर्फबाट घेरा हालेर नियन्त्रणमा लिन खोज्दा तस्करहरु रातको अन्धकार र जंगलको फाइदा उठाई काठ र गाडी त्यहीँ छाडी भागेका थिए । त्यसपछि गस्ती टोलीले गाडी र काठ बरामद गरी डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा ल्याएको छ ।
वन कार्यालयका अनुसार बरामद गाडीको नम्बर प्लेटको आधारमा तस्करहरुको पहिचान गर्ने काम अघि बढाइएको छ । अनुसन्धान पूरा भएपछि कानुनी प्रक्रिया अनुसार कारबाही हुने डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त साहले जनाइएको छ ।


