घटस्थापनाको कलश यात्रामा सहभागी हुन बागमती नदी पुगेका रौशनको डुबेर मृत्यु, शव फेला 

रौतहट, ७ असोज । घटस्थापनाको अवसरमा कलश यात्रामा सहभागी हुन बागमती खोलामा गएका एक किशोरको डुबेर मृत्यु भएको छ ।
वृन्दावन नगरपालिका–३ विश्रामपुरका गजेन्द्र राय यादवका १३ वर्षीय छोरा रौशन यादव सोमबार बिहान हनुमान चौकस्थित दुर्गा पूजाका लागि गरिएको कलश शोभा यात्रामा सहभागी हुन बागमती खोलामा पुगेका थिए । नुहाउने क्रममा उनी खोलाको गहिरो खाडलमा परेपछि बेपत्ता भएका थिए ।
घटनापछि इलाका प्रहरी कार्यालय गरुडा, इलाका प्रहरी कार्यालय समनपुर, प्रहरी चौकी विश्रामपुर, प्रहरी चौकी धरमपुर र सशस्त्र प्रहरी बल समनपुर क्याम्पबाट खटिएका टोली तथा स्थानीयवासीले व्यापक खोजी गरेका थिए । तर सोमबार बेलुकीसम्म यादवको अत्तोपत्तो लागेको थिएन ।
मंगलबार दिउँसो भने उनको शव गढीमाई नगरपालिका स्थित समनपुर पुलभन्दा करिब एक किलोमिटर दक्षिणतर्फ फेला परेको प्रहरीले जनाएको छ । सोमबार वृन्दावन नगरपालिका वडा नं-१ रमौली घाटबाट हराएका यादवलाई धरमपुर घाटसम्म समेत खोज्दा पत्ता लाग्न सकेको थिएन ।
अचानक घटेको दुर्घटनाले विश्रामपुर गाउँ शोकमा डुबेको छ । वृन्दावन नगरपालिकाका पूर्व नगर प्रमुख रामस्नेही यादवले दुर्गा पूजाको अवसरमा परेको यो दुःखद घटनाले समुदायलाई स्तब्ध बनाएको बताएका छन् ।

ताजा समाचार

Related Articles