कलश यात्रामा सहभागी हुन बागमती खोलामा पुगेका रोशन बेपत्ता

रौतहट, ६ असोज ।  घटस्थापनाका अवसरमा कलश यात्रामा सहभागी हुन बागमती खोलामा पुगेका एक किशोर डुबेर बेपत्ता भएका छन्।

वृन्दावन नगरपालिका–३ विश्रामपुरका गजेन्द्र यादवका १३ वर्षीय छोरा रोशन यादव सोमबार बिहान हनुमान चौकस्थित दुर्गा पुजाको लागि गरिएको कलश शोभा यात्रामा सहभागी हुन बागमती खोलामा पुगेका थिए। नुहाउने क्रममा उनी खोलाको गहिरो खाडलमा परेर बेपत्ता भएको अनुमान गरिएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय गरुडा, इलाका प्रहरी कार्यालय समनपुर, प्रहरी चौकी विश्रामपुर, प्रहरी चौकी धरमपुर र सशस्त्र प्रहरी बल समनपुर क्याम्पबाट खटिएका टोली तथा स्थानीयले रोशनको खोजी कार्य थाले पनि सोमबार बेलुकीसम्म उनी फेला परेका छैनन्।

रमौली घाटबाट हराएका यादवलाई धरमपुर घाटसम्म खोजी गर्दा समेत अत्तोपत्तो नलागेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सोमबार बेलुकी अन्धकार बढेसँगै खोजी कार्य रोकिएको छ भने भोलि बिहानैदेखि पुनः खोजी अभियान सुरु गरिने छ।

परिवार र स्थानीयवासी भने खोजी कार्यमा सक्रिय रूपमा सहयोग गरिरहेका छन्। 

प्रहरी तथा स्थानीयको दिनभरको खोजीमा फेला नपरेका रोशनको परिवार गहिरो चिन्तामा परेको छ ।

ताजा समाचार

Related Articles