जनकपुर, ६ असोज । मैथिली कला क्षेत्रमा पछिल्ला वर्षहरूमा नयाँ पुस्ताको प्रवेश तीव्र गतिमा भइरहेको छ । यही क्रममा उदाएका चर्चित नाममध्ये एक हुन् इशिका भुजेल । जन्म र मूल घर पहाड भए पनि हुर्काइ र जीवन जनकपुरमै बिताएकी उनले आफूलाई मिथिलाकै कलाकारका रूपमा स्थापित गराएकी छन् ।
सानैदेखि गीत–संगीतमा रुचि राखेकी इशिकालाई अभिनयमार्फत पहिलो मौका प्राप्त भयो । निर्देशक बीएन पटेलको टेलिसिरियल ‘हुक्कालोली’ बाट उनले आफ्नो यात्रा सुरु गरिन् । अभिनयमा कदम राखे पनि उनको मन भने सधैं गीत–संगीतमै अडिएको थियो । यही क्रममा कलाकार अरुण विजयासँगको सहकार्य र जीवनसाथीको नाताले इशिकाको करियरलाई नयाँ मोड दियो । दुवैले मिलेर ‘लभ यू मिथिला’ नामक टिम स्थापना गरे, जसको स्टुडियोमार्फत उनले थुप्रै गीत रेकर्ड गरिसकेकी छन् ।
पहाडी परिवारमा जन्मिए पनि इशिकाले मैथिली गीतलाई नै आफ्नो पहिचान बनाएकी छन् । उनी भन्छिन्, “मैले हुर्केको वातावरण नै मिथिला हो, त्यसैले मलाई मैथिली गीत सजिलो लाग्छ ।” युट्युबमार्फत सार्वजनिक भएका उनका कैयौँ गीत लोकप्रिय बनेका छन् भने फिल्म क्षेत्रमै समेत उनको योगदान उल्लेखनीय छ ।
उनले अभिनय गरेको मैथिली फिल्म ‘कलकतियावाली’ सुपरहिट भयो । अरुण विजयाको निर्देशनमा बनेको यस फिल्मले लगानीकर्तालाई पाँच गुणासम्म नाफा दिलायो । सोही फिल्ममा इशिकाले गाएको गीत ‘प्यार होइ या कोना…’ युट्युबमा ट्रेन्डिङमा पर्न सफल भएको छ ।
हालै भारतको मिथिला क्षेत्रमा फिल्म प्रमोशनका लागि पुगेकी इशिका परम्परागत मैथिली भेषभूषामा देखिन्छिन् । जनकपुरको कुवा टोलमा भाडामा जग्गा लिएर उनीहरूको टोलीले स्थायी सुटिङ स्थलसमेत तयार गरेको छ । यहीँबाट सिरियलदेखि गीतसम्मको निर्माण भइरहेको छ ।
यद्यपि, केही समयअघि टिमकै एक कलाकार अनिशा झाको आत्महत्याले टोलीलाई कानुनी झन्झट भोग्नुपरेको थियो । तर प्रक्रिया पूरा भएपछि अहिले टोली पुनः उत्साहका साथ अगाडि बढेको छ ।
इशिकाको सपना भने अझ ठूलो छ । उनी भन्छिन्, “मैथिली कला क्षेत्रलाई देश–विदेशमा पुर्याउनु छ । अरू भाषा बोल्नेहरूलाई पनि मैथिली गीत सुन्न बाध्य बनाउन चाहन्छु ।”

