दुर्गा भगवती गाउँपालिकाले ल्यायो ४३ करोड ६१ लाख बजेट 

रौतहट, ६ असोज । दुर्गा भगवती गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ४३ करोड ६१ लाख २६ हजार १७ रुपैयाँ ८८ पैसाको बजेट सार्वजनिक गरेको छ। नीति तथा कार्यक्रम सार्वजनिकीकरणसँगै सम्पन्न नवौं गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत नवीन श्रीवास्तवले बजेट प्रस्तुत गर्नुभएको हो।

गाउँपालिकालाई धुवामुक्त बनाउन, सुख्खाग्रस्त क्षेत्रमा सिँचाइ र खानेपानीको समस्या समाधान गर्न बोरिङ, हैण्डपाइप जडानजस्ता योजना प्रमुख प्राथमिकतामा राखिएको छ। विपद् व्यवस्थापन र सुशासन प्रवर्द्धनका लागि छुट्टै रकम विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ।

श्रीवास्तवले विकाससँगै पारदर्शिता कायम गर्न हरेक गतिविधि आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँका अनुसार, बहुमतका आधारमा नभई सर्वसम्मत ढंगले गाउँसभा सम्पन्न गर्ने इच्छाका कारण यो प्रक्रिया निर्धारित समयभन्दा तीन महिना ढिलो भएको हो।

यस आर्थिक वर्षमा वडा नं. ४ र ५ का घरधुरीमा ग्यास चुल्हो वितरण गरिने योजना छ। यसअघि वडा नं. १, २ र ५ मा वितरण भइसकेकाले बाँकी वडामा यो कार्य सम्पन्न गर्न लागिएको वडा अध्यक्ष धर्मेन्द्रकुमार झाले जानकारी दिनुभयो। वडा नं. ३ मा कृषि विद्युतीकरण, स्वच्छ खानेपानी र छोरी संरक्षणजस्ता कार्यक्रम प्राथमिकतामा छन्। गाउँपालिकाले ५ वटै वडालाई समानरुपमा प्रतिवडा ३० लाखका दरले बजेट उपलब्ध गराएको छ।

दशैं पर्वलाई ध्यानमा राख्दै शिक्षक तथा कर्मचारीलाई साउन–भदौ महिनाको तलब र दशैं खर्च बिदा अघि नै उपलब्ध गराइने पनि गाउँपालिकाले जनाएको छ।

रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये दुर्गा भगवती गाउँपालिकाले बजेट पारित गरेसँगै हालसम्म देवाही गोनाही नगरपालिका मात्रै बजेट ल्याउन बाँकी रहेको छ।

ताजा समाचार

Related Articles