चन्द्रनिगाहपुरमा यात्रु सहायता कक्ष सञ्चालन

रौतहट, ६ असोज । रौतहटको चन्द्रनिगाहपुरमा यात्रु सहायता कक्ष सञ्चालनमा आएको छ। दसैँ, तिहार तथा छठ जस्ता ठूला चाडपर्वमा यात्रुहरूले सहज र सुरक्षित रुपमा यात्रा गर्न सकून् भन्ने उद्देश्यले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा यो कक्ष स्थापना गरेका हुन्।
आन्दोलनका क्रममा प्रहरी कार्यालयमा क्षति भए पनि नागरिकलाई सहयोग गर्ने जिम्मेवारीबाट पछि नहटिने इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपा लाबुङले बताइन् । उनका अनुसार यात्राका क्रममा कुनै समस्या परे यात्रुहरूले तुरुन्तै सहायता कक्षमा सम्पर्क गर्न सक्नेछन् ।
यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले चाडपर्वको भीडभाडमा अनधिकृत रूपमा बढी भाडा असुल्ने गतिविधि नियन्त्रणमा ल्याउन विशेष निगरानी राखिने जानकारी दिए। “अनधिकृत रूपमा भाडा असुल गरेको उजुरी आए तत्काल कारबाही गरिन्छ,” उनले भने। अधिकारीका अनुसार यात्रु सहायता कक्ष स्थापनाको मुख्य उद्देश्य सुरक्षित, सहज र विश्वासिलो यात्रा वातावरण सिर्जना गर्नु हो।
यससँगै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बैंक, वित्तीय संस्था तथा सुनचाँदी पसलहरूलाई लक्षित गरी चोरी, डकैती र लुटपाटजस्ता अपराध रोकथामका लागि विशेष गस्ती टोली परिचालन गर्ने तयारी पनि गरेको छ।
स्थानीयहरूले प्रहरीको यो कदमलाई स्वागत गरेका छन् । चन्द्रनिगाहपुरका स्थानीय तथा नेपाल पत्रकार महासंघ रौतहट शाखाका उपाध्यक्ष सुब्बा कार्कीका अनुसार चाडपर्वमा यात्रु सहायता कक्षले यात्रु मात्र नभई व्यापारी र सर्वसाधारणलाई समेत ठूलो राहत दिने गरेको छ ।

ताजा समाचार

Related Articles