जेन–जी आन्दोलनले रौतहटमा २२ करोडभन्दा बढीको क्षति

रौतहट, ४ असोज । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध उत्रिएको जेन–जी आन्दोलन हिंसात्मक रुप लिँदा रौतहटमा २२ करोड रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय गौरका अनुसार आन्दोलनकारीहरुले चन्द्रपुर, गरुडा, कटहरिया, मौलापुर, फतुवा बिजयपुर र गौर नगरपालिकासहित विभिन्न सरकारी निकायमा तोडफोड, आगजनी र लुटपाट गरेका थिए । यस क्रममा सडक डिभिजन, डिभिजन वन, प्रदेश लेखा कार्यालय, जिल्ला अदालत, मालपोत, करदाता, नापी र अनुसन्धान कार्यालयहरु समेत क्षतिग्रस्त भएका छन् ।

क्षतिको विवरणअनुसार चन्द्रपुर नगरपालिकामा ३ करोड, मौलापुरमा ५ करोड, कटहरियामा १ करोड, फतुवाबिजयपुरमा ३ करोड ५० लाख, गौरमा ६४ लाख र गरुडामा ८५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । सडक डिभिजनमा मात्र ६ करोड र डिभिजन वनमा २ करोड ५० लाख बराबरको क्षति पुगेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

प्रदर्शनकारीहरुले प्रहरी युनिटहरुलाई समेत लक्ष्य बनाएर तोडफोड र आगजनी गरेका थिए । चन्द्रनिगाहपुरस्थित इलाका प्रहरी कार्यालयबाट सुरु भएको घटनामा जिल्लाभरका आठ प्रहरी युनिट क्षतिग्रस्त भएका छन् । शिवनगर, हर्षाहा, गरुडा, सुकदेवाचोक, बंकुल र चन्द्रपुर तल्लो बजारका अस्थायी प्रहरी चौकीमा समेत तोडफोड र आगजनी भएको छ ।

प्रहरीको अनुमान अनुसार इलाका प्रहरी कार्यालयहरुमा करिब २ करोड १४ लाख बराबरको क्षति पुगेको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले सरकारी सम्पत्तिमा भएको लुटपाट र तोडफोडको छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याइने बताए । उनका अनुसार सबै घटनामा जेन–जीकै संलग्नता नभए पनि अनुसन्धान व्यापक बनाइने तयारी भइरहेको छ ।

ताजा समाचार

Related Articles