तस्करी रोक्न सशस्त्र प्रहरीलाई डिआईजी ढकालको कडा निर्देशन

रौतहट २ असोज । सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनीका प्रमुख डिआईजी कृष्ण ढकालले रौतहट सीमाक्षेत्रलाई उच्च सतर्कतामा राख्न आदेश दिएका छन्। बुधबार गौरस्थित प्रस्तावित सीमा सुरक्षा गुल्मको निरीक्षण क्रममा उनले अवैध ओसारपसार, चोरी–तस्करी र लागुऔषध कारोबारलाई पूर्णरूपमा नियन्त्रण गर्न कडाइका साथ निर्देशन दिएका हुन्।

हालैको जेनजी आन्दोलनका कारण जिल्लाको शान्ति–सुरक्षामा देखिएको संवेदनशीलतालाई ध्यानमा राख्दै डिआईजी ढकाल आफैं रौतहट पुगेका हुन्। उनले सुरक्षाकर्मीहरूको मनोबल उच्च बनाउन र परिस्थितिलाई स्थिर बनाउन प्रत्यक्ष भेटघाटसमेत गरेका छन्।

निरीक्षणका क्रममा उनले नयाँ गुल्म भवन चाँडै उद्घाटन हुने जानकारी दिँदै सीमाक्षेत्रमा सूक्ष्म निगरानी गर्न, रातदिन खटिन र त्रुटिरहित सेवा प्रवाह गर्न आदेश दिए। “परिस्थितिअनुसार आवेगलाई नियन्त्रण गरी विवेकपूर्ण ढंगले काम गर्नुपर्छ,” भन्दै उनले सुरक्षाकर्मीहरूलाई इमानदार र निर्भीक राष्ट्रसेवकका रूपमा खटिनुपर्नेमा जोड दिएका छन्।

भारतसँग खुला सीमा भएका कारण रौतहटमा अवैध कारोबार, विशेषगरी लागुऔषध तस्करीको जोखिम बढ्दै गएको छ। यसैबीच आन्दोलनका क्रममा सरकारी सम्पत्तिमा तोडफोड र आगजनीका घटनाले सुरक्षा चुनौती थपिएको अवस्थामा डिआईजी ढकालको निर्देशनलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।

सुरक्षाकर्मीहरूलाई जिम्मेवारीपूर्वक खटिन प्रेरित गर्ने उनको सन्देशले जिल्लाको शान्ति–सुरक्षा सुदृढ पार्न योगदान गर्ने अपेक्षा गरिएको छ।

ताजा समाचार

Related Articles