रौतहट, २६ भदौ । जेन–जी आन्दोलनपछि रौतहटको वृन्दावन नगरपालिका–१ मा आगजनी भएको छ । देशभर सोमबार र मङ्गलबार प्रदर्शन भएपनि बुधबार मात्रै सो वडामा आक्रमण र आगजनी भएको हो ।
वडा कार्यालय रमौलीस्थित अस्थायी प्रहरी चौकी विश्रामपुरसँगै रहेको छ । प्रत्यक्षदर्शीका अनुसार योजनाबद्ध रूपमा आएका समूहले सुरुवातमै प्रहरी चौकीमा आक्रमण गरेका थिए । ढुङ्गामुढा भएपछि प्रहरी फोर्स पछाडि हटेपछि आक्रमणकारीहरूले वडामा प्रवेश गरी सम्पूर्ण कागजात, फर्निचर, कम्प्युटरलगायतका सामग्री बाहिर निकालेर कम्पाउन्डमै आगो लगाएका थिए ।
आगजनीबाट वडा कार्यालयमा रहेका सम्पूर्ण कागजात जलेर नष्ट भएको वडाध्यक्ष रामनाथ सहनीले पुष्टि गरेका छन् । उनले यसलाई राजनीतिक प्रतिशोधको घटना बताउँदै नेपाली कांग्रेस र माओवादीका कार्यकर्ताले आगजनी गरेको आरोप लगाए ।
“घटनाको योजनाकारदेखि वडामा आगो लगाउने, बैठक गर्ने सबैको पहिचान भइसकेको छ, अब उनीहरू विरुद्ध उजुरी दिने तयारी भइरहेको छ,” वडाध्यक्ष सहनीले भने ।
घटनापछि स्थानीयवासीमा त्रासको वातावरण सृजना भएको छ । प्रहरीले आगजनीमा संलग्न समूहको खोजी तीव्र पारेको जनाएको छ ।

