रौतहट, २६ भदौ । रौतहटको गौर कारागारबाट भागेका कैदीबन्दीहरुलाई आफैं उपस्थित भई कानुनी कारवाहीबाट जोगिन र राज्यलाई सहयोग गर्न प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले आग्रह गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी खड्काले असहज परिस्थितिको मौका छोपी फरार भएका कैदीबन्दीहरुलाई जो जहाँ भए पनि तुरुन्तै कारागारमा उपस्थित भई अदालती सजाय अनुसार कैद भुक्तान गर्न आग्रह गर्दै भने, “अन्यथा कसुरअनुसार थप कानुनी कारवाहीको दायरामा पर्नुपर्ने हुन्छ ।”
गौर कारागारमा रहेका २९१ कैदीमध्ये ३१ जना नभागी त्यहीँ रहेका छन् भने १७ जनालाई भारतबाट फर्काइएको र ३१ जनालाई जिल्लाकै विभिन्न स्थानबाट पक्राउ गरेको छ । अहिले कारागार बस्नेको संख्या ७९ पुगेका छन् । अझै २१२ जना कैदी फरार अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिए ।
उनले असहज परिस्थितिमा आम नागरिकले प्रहरी प्रशासनलाई सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउँदै समाजमा उत्पन्न भएको त्रास र अवाञ्छित गतिविधिलाई निष्तेज पार्न सबैको भूमिका महत्त्वपूर्ण रहेको बताए ।
रौतहटको समग्र अवस्था सुधारोन्मुख रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी खड्काले सदरमुकामलगायत अन्य क्षेत्रमा शान्ति कायम भइसकेको र चन्द्रपुरमा पनि अवस्था सामान्य बनाउन स्थानीय बासिन्दाले सहयोग गरिरहेको जानकारी दिए ।
हाल पनि निषेधाज्ञा जारी रहेको भन्दै उनले अत्यावश्यक काम बाहेक घरमै बस्न अनुरोध गरे । साथै गाउँ–टोलमा भागेर बसिरहेका कैदीबन्दी देखिए वा जानकारी भएमा तुरुन्तै सुरक्षा निकायलाई खबर गर्न समेत सर्वसाधारणलाई आग्रह गरे ।

