पक्राउ पर्न थाले गौर कारागारबाट फरार कैदी
- रौतहट, २६ भदौ । रौतहटको गौरस्थित जिल्ला कारागारबाट मंगलबार राति २९१ जना कैदीबन्दीमध्ये ठूलो संख्यामा फरार भएका छन् । जेन–जी आन्दोलनकै बीच कैदीहरुले कारागारको पर्खाल भत्काएर समूहगत रूपमा भाग्ने प्रयास गर्दा २९१ जनामध्ये ६४ जनालाई सुरक्षाकर्मीहरूले पुनः नियन्त्रणमा लिइसकेका छन् भने बाँकी २२७ कैदी अझै फरार रहेका छन् ।
कारागार कार्यालय गौरका प्रमुख मनिष झाका अनुसार फरार हुनेहरूमा दुई महिला र दुई सय ५८ पुरुष रहेका छन् । प्रारम्भिक अनुसन्धानअनुसार मंगलबार राति करिब ११ बजे योजनाबद्ध रूपमा कैदीहरूले पछाडिको भागबाट पर्खाल भत्काएर भागेका हुन् ।
कारागारमा २९१ कैदीबन्दीमध्ये ३१ जना फरार नभई कारागारमै बसेका थिए । हाल कारागारभित्र ६२ जना कैदी बन्दी छन्, जसमा ६ जना महिला रहेका छन् ।
सुरक्षाकर्मीहरूले तत्कालै खोजतलास थालेपछि विभिन्न स्थानमा छिपिएका ३१ कैदीलाई कारागार परिसरमै नियन्त्रणमा लिएको बताइएको छ । यस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले विभिन्न स्थानबाट थप कैदी पक्राउ गरी अहिलेसम्म ६४ जना नियन्त्रणमा ल्याइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विनोदकुमार खड्काका अनुसार फरारमध्ये केही भारतीय नागरिकसमेत रहेका छन् । तीमध्ये १०–१२ जनालाई सीमा क्षेत्रमा तैनाथ भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएको छ । अवस्था सामान्य भएपछि उनीहरूलाई नेपाली पक्षलाई बुझाउने प्रक्रिया अघि बढाइने जनाइएको छ ।
“सुरक्षाकर्मीहरूले नियन्त्रणको काम गरिरहेका छन्, नागरिकलाई त्रास लिनु पर्दैन । तोकिएको समयभित्र घरमै रहनुहोस्,” प्रजिअ खड्काले आम नागरिकलाई आग्रह गरेका छन् ।
यस घटनापछि गौर र आसपासका क्षेत्रमा सुरक्षा निकायले सीमा नाका, राजमार्ग तथा नजिकका बस्तीहरूमा कडा चेकजाँच थालेका छन् ।