रुपेन्द्र पटेल
रौतहट, २१ भदौ । रौतहटको चन्द्रनिगाहपुरस्थित जनज्योती बहुमुखी क्याम्पसको १३ औँ क्याम्पस सभा शनिबार सम्पन्न भएको छ । सभामा प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय काफ्लले शिक्षाको विकासलाई नगरपालिकाले प्राथमिकतामा राखेको उल्लेख गर्दै क्याम्पसको भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर र गतिविधिमा अझ सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।
सभामा सचालक समितिका अध्यक्ष सञ्जय कार्कीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पसलाई प्रविधिमैत्री बनाउन, आवश्यकता अनुसार नयाँ विषय थप्न, पुस्तकालय र प्रयोगशाला विस्तार गर्न प्राथमिकता दिइने जानकारी दिए । क्याम्पस प्रमुख राजन श्रेष्ठले शैक्षिक सुधारका कारण विद्यार्थी भर्ना दर र परीक्षाफल दुवैमा सुधार भएको बताए ।
कोषाध्यक्ष चिरञ्जिबी गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक वर्षमा ६ करोड ४६ लाख ११ हजार ४७३ रुपैयाँ आम्दानी र ३ करोड ६४ लाख २८ हजार ७९८ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरे ।
सभामा सहभागी अभिभावक, शिक्षक, विद्यार्थी प्रतिनिधि तथा सरोकारवालाले व्यावहारिक शिक्षा, रोजगारीमुखी कार्यक्रम र उच्च शिक्षाको गुणस्तरीयतामा जोड दिए । क्याम्पसले भविष्यमा स्नातक तथा स्नातकोत्तर तहका नयाँ विषय सञ्चालन गर्ने, भवन र पूर्वाधार विस्तार गर्ने, सूचना प्रविधिको प्रभावकारी प्रयोग गर्ने तथा स्थानीय समुदायसँग सहकार्य बढाउने योजना सार्वजनिक गरेको छ ।
कार्यक्रममा उपप्राध्यापक दिपक घिमिरे र प्रशासन सहायक आषिश कोईरालालाई सम्मान गरिएको थियो भने विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । कार्यक्रम प्राध्यापक संघका अध्यक्ष दिपक पौडेलले सञ्चालन गरेका थिए भने संचालक समितिका उपाध्यक्ष बालकृष्ण श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।



