रौतहट, २१ भदौ । मधेश प्रदेशका अर्थमन्त्री तथा नेपाली कांग्रेस रौतहटका जिल्ला सभापति सुनिल कुमार यादव (जितेन्द्र) ले विकासलाई नागरिक समृद्धिको प्रमुख आधारका रुपमा अघि बढाउनुपर्ने बताएका छन् ।
गृह जिल्ला रौतहटको कटहरियामा आयोजित नेपाली कांग्रेस नगर कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै मन्त्री यादवले प्रदेश सरकारले कृषिलाई आधुनिकीकरण गर्दै भौतिक पूर्वाधार निर्माणमा विशेष प्राथमिकता दिएको बताए । उनले विकास योजनामार्फत नागरिकलाई प्रत्यक्ष लाभ दिलाउने गरी काम भइरहेको उल्लेख गरे ।
कार्यक्रममा उनले पार्टीभित्र संगठन मजबुत बनाउन आपसी विश्वास, समन्वय र निरन्तर संवाद अपरिहार्य रहेको धारणा राखेका थिए । साथै कार्यकर्ताहरुको गुनासो र सुझावलाई सम्बोधन गर्दै संगठनमा सशक्त रुपमा क्रियाशील रहन आग्रह गरे ।
कटहरिया नगर समितिद्वारा आयोजित कार्यक्रममा कार्यकर्ताले संगठन विस्तार, आन्तरिक एकता, आगामी चुनावी रणनीति र जनस्तरमा कांग्रेसको प्रभाव बढाउने विषयमा खुला छलफल गरेका थिए ।
कार्यक्रम नगर कमिटी अध्यक्ष शम्भुकान्त यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा वडा अध्यक्षहरु सर्फलाल प्रसाद, शहीद मियाँ, पूर्व वडाअध्यक्ष उमेश यादवसहित स्थानीय नेतादेखि सामान्य कार्यकर्तासम्मको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ ।

