छात्रालाई दुर्व्यहार गरेको आरोपमा महोतरीमा शिक्षक पक्राउ

महोतरी २० भाद्र
महोतरीको बर्दिवासमा एक छात्रालाई दुर्ब्यवहार गरेको भन्दै शिक्षक पक्राउ परेका छन । बर्दिवास नगरपालिकाको वडा नम्बर ११ खयरमारामा रहेको निर्मल लामा बहुप्राविधिक शिक्षालयमा अध्ययनरत एक छात्रालाई दुर्व्यहार गरेको आरोपमा शिक्षक वसन्त प्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोतरीका डिएसपी तथा सूचना अधिकारी शैलेन्द्र भट्टले तराई पोष्टलाई बताउनु भयो । शिक्षक यादवमाथि शिक्षालयका ४ जना छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेको छ । घटनाबारे अभिभावक साथ आएका छात्राले दिएको जाहेरीको आधारमा शिक्षक यादवलाई पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको इलाका प्रहरी बर्दीबासले जनाएको छ । शिक्षक यादवले रातको समयमा फोन गरी कहिले परीक्षामा पास गराइ दिने प्रलोभन र कहिले अभद्र धाक धम्की दिएर छात्रालाई मानसिक यातना दिएको आरोप लागेको छ । यससम्बन्धी अडियो रेकर्ड फेला परेपछि शिक्षालयको सहयोगमा बर्दीबास प्रहरीले यादवलाई नियन्त्रणमा लिएको जनाएको छ । निर्मल लामा बहुप्राविधिक शिक्षालयका प्रमुख रमण मेहताले अभिभावकसाथ आएका चार जना छात्राले शिक्षक यादवविरुद्ध उजुरी दिन आएपछि घटनाबारे जानकारी पाएको बताउनु भयो । जानकारी लगत्तै शिक्षालय प्रशासनले सिटिइभिटीका मधेश प्रदेश निर्देशक अच्युतराज दहाललाई जानकारी गराउनुका साथै प्रमुख जिल्ला अधिकारीसँग परामर्शपछि पीडित छात्रालाई अभिभावकसाथ बर्दीबास प्रहरीमा पठाएको थियो । पक्राउ परेका शिक्षक यादवलाई न्यायिक हिरासतमा राखी अनुसन्धान गर्न बिहीबार महोत्तरी जिल्ला अदालतले सात दिनको म्याद दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी तथा सूचना अधिकारी शैलेन्द्र भट्टले जनाउनु भयो ।

ताजा समाचार

Related Articles