रौतहट २० भाद्र
उखु किसानहरुको अनुदान बापतको ७५ करोड रकम निकासा गरेको छ । नेपाल सरकारले उखु किसानहरुलाई उत्पादन प्रोत्साहन स्वरुप दिने अनुदान बापतको रकम निकासा गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले जनाएको छ । देशभरका १३ जिल्लाका किसानले चिनी उद्योगमा उपलब्ध गराएको करिब दुई करोड १६ लाख क्विन्टल उखु बराबरको सो रकम किसानलाई पठाइएको कोलेनिकाले जनाएको छ । किसानलाई चिनी उद्योगले प्रतिक्विन्टल ५८५ र सरकारले ३५ रुपियाँ अनुदान दिने व्यवस्था अनुसार सो रकम उपलब्ध गराइएको बताइएको छ । सुनसरी, सिराहा, सर्लाही, महोत्तरी, रौतहट, बारा, नवलपरासी लगायत जिल्लामा व्यावसायिक उखु खेती हुने गर्दछ । सर्लाहीका उखु किसानले प्रतिक्विन्टल ३५ रुपियाँका दरले अनुदान रकम प्राप्त गरेका छन । सरकारले गएको वर्ष उखु क्रसिङ सिजन २०८१/८२ मा किसानलाई प्रतिक्विन्टल ७० रुपियाँका दरले अनुदान उपलब्ध गराउने निर्णय गरेको थियो तर अहिले रकम निकासा हुँदा भने ३५ रुपियाँका दरले वितरण गर्न पुग्ने गरी मात्रै निकासा भएको जनाइएको छ । सर्लाहीका उखु किसानका लागि प्राप्त भएको १८ करोड रुपियाँ अनुदान रकम प्रत्येक किसानको खातामा पठाइ सकिएको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले जनाएको छ । प्रमुख कोष नियन्त्रक पुष्पप्रसाद गुरागाईंका अनुसार उखु किसानलाई अनुदान दिन १८ करोड ७५ लाख ५० हजार ६९० रुपियाँ निकासा भएर आएको थियो । सर्लाहीका तीन वटा चिनी मिलले क्रसिङ गरेको उखुको विवरण अनुसार किसानलाई ३७ करोड रुपियाँ अनुदान रकम माग गरिएपनि १८ करोड मात्रै निकासा आएको र त्यो वितरण गरेर सकिएको प्रमुख कोष नियन्त्रक गुरागाईंले बताउनु भयो ।

