चन्द्रपुर,१७ भदौं । रौतहटमा पछिल्लो समय कुकुरको टोकाइबाट घाइते हुनेको संख्या ह्वात्तै बढेको छ । जिल्ला चन्द्रपुर, वृन्दावन, गुजरा र फतुवा विजयपुर नगर क्षेत्रमा कुकुरले आक्रमण गर्ने घटनाहरु निरन्तर सार्वजनिक भइरहेका छन् । चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालका तथ्याङ्कअनुसार गत वैशाखयता मात्रै ७२६ जना कुकुरको टोकाइबाट घाइते भएका छन् । अस्पताल प्रमुख डा. अभिनन्दन कुमार श्रीवास्तवका अनुसार वैशाखमा १४३, जेठमा १२२, असारमा १६६, साउनमा १६० र भदौको १५ गतेसम्म १३५ जना घाइते भएर अस्पताल आएका छन् । घाइते सबै उमेर समूहका छन् भने उनीहरुलाई रेबिजविरुद्धको खोप लगाइएको उनले बताए ।
स्थानीय बासिन्दा कुकुरको अनियन्त्रित अवस्थाले त्रसित बनेका छन् । चन्द्रनिगाहपुर–४ का रामबाबु महतोले मन्दिरतर्फ जाँदै गर्दा कुकुरले आक्रमण गरी दुई पटक टोकेको अनुभव सुनाउँदै भने, “अहिले बाहिर हिँड्नै डर लागेको छ । चन्द्रनिगाहपुर-५ की सीता देवी दासले सानो बच्चा लिएर बाहिर निस्कनै कठिन भएको बताउँदै तत्काल नियन्त्रणको माग गरिन् । चन्द्रनिगाहपुरका स्थानीय समाजसेवी बसन्त आचार्यका अनुसार छोटो अवधिमा यति धेरै मानिसलाई कुकुरले टोकेको घटना सामान्य नभई गम्भीर सार्वजनिक स्वास्थ्य संकट हो । पालिकाहरुले तत्काल टोली बनाएर नियन्त्रणका उपाय सुरु गर्नुपर्छ, उनले भने । यतिबेला सहरदेखि गाउँसम्म छाडा कुकुरको संख्या ह्वात्तै बढेको छ । कुकुरहरु झुन्ड बनाएर घुम्ने गरेको पाइन्छ । चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालका प्रमुख डाक्टर श्रीवास्तवका अनुसार गर्मी मौसम, प्रजनन अवधि र मनसुन सक्रिय हुने बेला कुकुरहरू बढी आक्रामक बन्ने भएकाले यस्तो अवस्था देखिएको हो ।
उनका अनुसार गर्मीमा कुकुरहरू चिडचिडा हुने प्रवृत्ति देखिन्छ भने प्रजनन अवधिमा स्वभाविक रूपमा आक्रामक बन्ने सम्भावना बढी हुन्छ । मनसुन सुरु भएसँगै वर्षाका कारण कुकुरहरूको स्थायी बासस्थान बिग्रने र भर्खर बच्चा जन्माएका कुकुर आमाले आफ्नो बच्चालाई बचाउन मानिसले छुने वा नजिक जाने प्रयास गर्दा पनि आक्रमण गर्ने सम्भावना धेरै हुन्छ,” डा. श्रीवास्तवले भने ।
उनले अनावश्यक रूपमा बाहिर नहिँड्न, अपरिचित कुकुरबाट टाढा रहन र विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।

