गौर हत्याकाण्डको अनुसन्धान शुरु : डीआईजी चर्तुवेदी

रौतहट १६ भाद्र
रौतहटको गौर हत्याकाण्डको प्रहरीले अनुसन्धान अगाडी बढाइएको छ । १९ वर्षअघि रौतहटको गौरमा ७ चैत २०६३ मा २७ जनाको ज्यान जाने गरी दुई राजनीतिक पार्टीबीच हिंसात्मक झडप भएको थियो । त्यो घटनाको आरोपीमाथि प्रहरीले खोजतलास सुरु गरेको मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी उमा प्रसाद चर्तुवेदीले बताउनु भएको छ । सो हत्याकाण्डमा जसपा अध्यक्ष उपेन्द्र यादवसहित १ सय ३० जनामाथि प्रहरीमा किटानी जाहेरी परेको थियो । सोही अनुसार अनुसन्धान प्रक्रिया अगाडि बढाइएको मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चर्तुवेदीले बताउनु भएको छ । आफुहरुले अनुसन्धान प्रक्रिया सुरु गरिसकेको र आरोपित १ सय ३० जनाको तीन पुस्ते विवरण संकलनको कार्य भइरहेको डीआईजी चर्तुवेदीले तराई पोष्टसंग बताउनु भयो । प्रारम्भिक अनुसन्धान अनुसार आरोपी मध्ये ११ जनाको मृत्यु भइसकेको सूचना आएको चर्तुवेदीले बताउनु भयो । सर्वोच्च अदालतले गौरमा २७ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डको घटनाबारे अनुसन्धान गर्न परमादेश जारी गरेसँगै प्रहरीको अनुसन्धान प्रक्रिया सुरु भएको जनाएको छ । गौर घटनाका पीडितका तर्फबाट चार जनाले सर्वोच्च अदालतमा दुई वर्षअघि दायर गरेको रिट निवेदनमा जिल्ला प्रहरी कार्यालय गौरमा दायर गरिएको जाहेरी अघि बढाउन परमादेशको माग गरिएको थियो । सर्वोच्चका न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले उक्त माग बमोजिमको आदेश भाद्र २ गते दिएको हो । १९ वर्षअघि गौरको राइस मिलमा यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम र पुष्पकमल दहाल नेतृत्वको नेकपा माओवादीको आमसभा एकै समय र एकै स्थानमा गर्ने विषयमा विवाद भई उग्र झडप भएको थियो । सो झडपमा ५ महिलासहित २७ जनाको निर्मम हत्या गरिएको थियो भने सय जनाभन्दा बढी घाइते भएका थिए ।

ताजा समाचार

Related Articles