रौतहट, १३ भदौ । रौतहटमा तस्करीको चिनी गायब भएको घटनामा सशस्त्र प्रहरी बलका तीन जना वरिष्ठ अधिकृत छानबिनको घेरामा परेका छन् ।
सशस्त्र प्रहरी ११ नम्बर गण, रौतहटका गणपती (एसपी) सन्तोष बस्नेत, डिएसपी अमर लामा र डिएसपी राजेन्द्र बस्नेतलाई प्रधान कार्यालयले तत्काल जिम्मेवारीबाट हटाएर अनुसन्धानमा तानेको हो ।
गत २९ साउनमा गरुडा स्थित शिवनगरका एक गोदाममा डिएसपी लामा र बस्नेतको टोलीले छापा मारेको थियो । गोदाममा करिब सात सय किलो (७०० केजी) चिनी रहेको सूचनाका आधारमा छापा मारिएको भए पनि भन्सारमा भने १०६ बोरा मात्रै बुझाइएको थियो । अनुसन्धानकर्ताका अनुसार गोदाममा रहेको अर्को ठूलो ट्रकमा लोड गरिएको चिनी गायब भएको देखिन्छ ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले केही अधिकारीमाथि कारबाहीका लागि अनुसन्धान भइरहेको पुष्टि गरेका छन् । प्रारम्भिक छानबिनमा अनियमितता देखिएपछि उच्चस्तरीय निर्णयअनुसार गण कमाण्डर एसपी बस्नेतदेखि दुई डिएसपीलाई जिम्मेवारीमुक्त गरिएको हो ।
डिएसपी अमर लामामाथि भने यसअघि पनि विवादमा तानिने गरेको आरोप छ । उनी इन्स्पेक्टर हुँदादेखि नै सोही क्षेत्रमा बारम्बार पोस्टिङ मिलाउँदै आएका थिए । यस घटनामा तल्लो तहका प्रहरी जवान र हवल्दारमाथि समेत बयान लिने प्रक्रिया सुरु भएको स्रोतले जनाएको छ ।
सशस्त्र प्रहरी मुख्यालयले यस प्रकरणलाई गम्भीर रूपमा लिएको र तराईका अन्य जिल्लामा समेत यस्तै उजुरी आएकाले छुट्टै टोलीमार्फत अनुसन्धान अघि बढाइएको जनाएको छ ।

