काठमाण्डौ,१३ भदौ । उच्च अदालत पाटनले मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश झा अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाण्डौको आदेशलाई सदर गरेको छ।
मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश खडानन्द तिवारीको इजलासले जिल्ला अदालतको आदेशलाई सदर गरेको उच्च अदालत पाटनका रजिस्ट्रार श्रीलाल पौडेलले जानकारी दिएका छन्।
झाविरुद्ध २०८१ साल जेठ ४ गते काठमाडौँस्थित डेरामा एक महिलामाथि बलात्कार गरेको आरोपमा मुद्दा दर्ता भएको थियो। सोही मुद्दामा जिल्ला अदालत काठमाण्डौले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। आदेशअनुसार उनलाई हाल डिल्लीबजार कारागारमा राखिएको छ।
जिल्ला अदालतको उक्त आदेशविरुद्ध झाले उच्च अदालत पाटनमा निवेदन दिएका थिए। निवेदनमाथिको सुनुवाइपछि जिल्ला अदालतको आदेश यथावत् राखिएको हो।

