जनकपुर,१० भदौं । मधेश प्रदेशमा तस्करी धन्दा प्रहरी प्रशासनकै मिलेमतोमा चल्दै आएको खुलासा हुन थालेपछि प्रहरी संगठनभित्र हलचल पैदा भएको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले विभिन्न जिल्लामा कार्यरत एक सय १३ जना प्रहरीलाई जिम्मेवारीमुक्त गर्दै अन्यत्र सरुवा गरेको छ ।
प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार, कारबाहीमा परेकामध्ये धेरैजसो ‘घुमुवा प्रहरी’ र गैरव्यावसायिक गतिविधिमा संलग्न कर्मचारी परेका छन् । उनीहरूलाई अपराध नियन्त्रण गर्ने जिम्मेवारी दिइएको थियो तर, उनीहरूकै आडमा तस्करी, असुली र अपराधीसँग साठगाठ फस्टाउँदै गएको आरोप लाग्दै आएको छ ।
डीआईजी चतुर्वेदीले भने, “हामीले अहिले कम्तीमा १ सय १३ जनाभन्दा बढीलाई हटाएका छौं, अन्यको पहिचान गर्ने काम अझै जारी छ । संगठनमाथि आँच पु¥याउनेहरूप्रति निर्मम भएर जाने छौं ।” सीमामा तस्करी नियन्त्रण गर्ने जिम्मेवारी नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, भन्सार कार्यालयलगायतमा छ । तर, सीमामा परिचालित ‘घुमुवा’ को काम अपराध पत्ता लगाउने नभई, तस्करहरूसँग लाइन मिलाउने र पैसा असुल्ने धन्दामा बदलिएको आरोप व्यापक छ । यही सञ्जालकै कारण सीमामा हुने तस्करी रोक्नुपर्ने प्रहरी आफैं ‘तस्करीको हिस्सा खाने’ भूमिकामा पुगेको जनगुनासो छ । यसपटक मधेश प्रहरीले देखाएको कडाइले संगठनभित्रको पुरानो रोगलाई केही हदसम्म उपचार गर्ने संकेत देखिएको छ । तर प्रश्न यही हो ।
अपराध नियन्त्रण गर्ने प्रहरी आफैं अपराधको जालोमा जकडिँदा जनताले कसलाई विश्वास गर्ने ?

