चन्द्रपुर ,१० भदौं । महिला सशक्तीकरण आर्थिक तथा राजनीतिक नेतृत्व–जलवायु सहनशील समुदाय परियोजना अन्तर्गत समुदाय र सरोकारवालाहरु बीच जलवायु परिवर्तन र अनुकूलन ज्ञानसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार आरडीसी नेपालको आयोजनामा चन्द्रनिगाहपुर स्थिते होटल आरोहीमा भएको कार्यक्रममा वृन्दावन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेल, नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, पालिकाका विभिन्न शाखा प्रमुख, कर्मचारी र स्थानीयबासीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत भुजेलले जलवायु परिवर्तनका चुनौतीसँग जुध्न स्थानीय सरकार अग्रसर हुने बताए ।
उनले भने, “जलवायु परिवर्तनको असर प्रत्यक्ष भोग्नु पर्ने समुदायलाई सुरक्षित राख्न नगरपालिका तर्फबाट आवश्यक सहयोग र पहल गर्न कुनै कसर बाँकी रहने छैन ।”
कार्यक्रमको सहजकर्ता कुमोदराज लेखकले जलवायु परिवर्तनका कारण उत्पन्न हुने सम्भावित असर, जोखिम र त्यसबाट जोगिन सकिने उपायका विषयमा विस्तृत जानकारी प्रस्तुत गरे ।
उनले समुदायलाई जलवायु अनुकूलनका उपायलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औंल्याए ।
अभिमुखीकरण कार्यक्रममा सहभागीले वातावरण संरक्षण, दिगो विकास र महिला नेतृत्वलाई जोड दिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको अध्यक्षता आरडीसी नेपालका कार्यकारी निर्देशक आशिष सिंह राजपुतले गरेका थिए ।
उनले जलवायु परिवर्तनको जोखिम न्यूनिकरणमा समुदाय र सरोकारवालाको सक्रिय भूमिकाले मात्र दीगो समाधान सम्भव हुने बताए ।
कोइका, अक्सफामइन नेपाल र आरडिसिको साझेदारीमा आयोजित यस कार्यक्रमले स्थानीय तह, जनप्रतिनिधि र समुदायबीच जलवायु परिवर्तनका असर र अनुकूलन उपायबारे साझा समझदारी बढाएको आयोजक संस्थाले जनाएको छ ।

