रौतहट ८ भाद्र
रौतहटमा सुटकेस भित्र भेटिएको महिलाको शवको पहिचान खुलेको छ । रौतहटमा सुटकेस भित्र एक महिलाको शव शनिबार राती फेला परेको थियो । रौतहटको गौर–गंगापिपरा सडक खण्ड अन्तर्गत मुडवलवा गेट नजिकबाट शनिबार राति प्रहरीले शंकास्पद डोरीले कस्सिएको सुटकेस फेला पारेको थियो । सोही सुटकेसमा मृत अबस्थामा एक महिलाको शव फेला परेको थियो । आइतबार उक्त महिलाको शवको सनाखत भएको छ । मृतक माधव नारायण नगरपालिका ६ माधोपुरकी ३० वर्षीया रुबी देवी साहको शव रहेको प्रहरीले जनाएको छ । सरदमुकाम गौर २ महादेव पट्टीमा डेरा गरेर बसेकी साह ब्यूटी पार्लर जान्छु भनेर घरबाट निस्केको पारिवारिक स्रोतले जनाएको छ । बेलुका ६ बजे परिवारले फोन गर्दा फोन नलागेपछि परिवारले प्रहरीलाई खबर नगरी फर्कने आशामा बसेका थिए । शनिबार राति सडक पेटीमा सुटकेस डोरीले बाँधिएको अवस्थामा १० बजे फेला परेको प्रहरीले जनाएको छ । पारिवारिक स्रोतका अनुसार सुटकेसमा शव भेटिएको हल्ला चलेपछि मृतकका आमाले शनिबार दिउँसोदेखि हराएकी छोरीको शव रहेको बताएको अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक रुद्र कडेलले तराई पोष्टलाई जानकारी दिनु भयो । सुटकेसमा भेटिएको शवको सनाखत भएको प्रतिक्रिया दिंदै प्रहरी निरीक्षक कडेलले अनुसन्धान भइरहेको र घटनाको चाँडै पत्ता लाग्ने उहाले बताउनु भयो ।

