रौतहट ८ भाद्र
चन्द्रपुर नगरपालिका स्थानिय तह संस्थागत क्षमतामा स्वमुल्याङकनमा रौतहटको उत्कृष्ट भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकनको गुणस्तर परीक्षणसहितको अन्तिम नतिजा अनुसार रौतहटका १८ पालिका मध्ये चन्द्रपुर नगरपालिका सबैभन्दा बढी अङ्क प्राप्त गरेको छ । चन्द्रपुर नगरपालिकाले ७४.५० अङ्कका साथ रौतहटको उत्कृष्ट भएको नगर प्रमुख सन्जय कुमार काफ्लेले तराइ पोष्टलाई जानकारी दिनु भयो । नेपाल सरकारको प्रचलित कानुनको पालना, जनप्रतिनिधिको सहयोग एवम् सहकार्य तथा कर्मचारीहरुले आफ्नो पदिय जिम्मेवारी अनुसारको काम पूर्ण इमान्दारी एवम् लगनका साथ गर्ने गरेका कारण चन्द्रपुर नगरपालिका रौतहटको उत्कृष्ट पालिका हुन सफल भएको नगर प्रमुख काफ्लेको भनाइ रहेको छ । आगामी दिनमा अझ सुधार गर्दै सबै सूचाङ्कमा राम्रो अङ्क ल्याउन नगरपालिका प्रयासरत रहने उहाँले बताउनुभयो । नतिजा अनुसार गौर नगरपालिका दोस्रो भएको छ । गौर नगरपालिकाले ७३ अङ्क प्राप्त गरेको छ । त्यस्तै गरुडा नगरपालिका ७१.७५ अङ्क,राजदेवी नगरपालिका ६६.७५ अङ्क, राजपुर नगरपालिका ६२ अङ्क, बौधीमाइ नगरपालिका ६१ अङ्क, गुजरा नगरपालिका ५८.२५ अङ्क, वृन्दावन नगरपालिका ५६.५० अङ्क, इशनाथ नगरपालिका ५६.२५ अङ्क, दुर्गा भगवती गाउँपालिकाले ५४ अङ्क, परोहा नगरपालिकाले ५०.२५ अङ्क माधवनारायण नगरपालिका ४९.२५ अङ्क देवाही गोनाही नगरपालिकाले ४७.२५ र मौलापुर नगरपालिका ४३.२५ अङ्क ल्याएको छ । रौतहटमा सबभन्दा कम फतुवा विजयपुर नगरपालिकाले ३५.२५ अङ्क प्राप्त गरेको जनाइएको छ ।

