रौतहट, ५ भदौ । चन्द्रपुर नगरपालिकाले नक्सा पास नगरी निर्माण भएका घरधनीलाई अन्तिमपटक अभिलेखिकरणको अवसर दिएको छ । आर्थिक वर्ष २०७७/०७८ मा बनेको निर्देशिका अनुसार २०८२ भदौ २ गते बसेको नगर कार्यपालिका बैठकले एक महिनाभित्र अभिलेखिकरण गराउनुपर्ने निर्णय गरेको हो ।
नगरपालिकाले अभिलेखिकरणमा छुट भएका घरधनीलाई शतप्रतिशत जरिवाना असुल गरी प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ । भवन आचारसंहिता अनुसार २०७४ सालअघि बनेका घरहरूलाई अभिलेखिकरण गर्ने प्रक्रिया यसअघि पटक–पटक आह्वान गरिएको भए पनि यो अन्तिम मौका भएको नगरपालिकाले जनाएको छ ।
निर्धारित शुल्क अनुसार पुराना घर अभिलेखिकरण गर्दा प्रति स्क्वायर ८ रुपैयाँ लाग्नेछ भने नयाँ नक्सा पास गर्नेहरूका लागि प्रति स्क्वायर ५ रुपैयाँ शुल्क तोकिएको छ ।
नगर प्रमुख सञ्जय काफ्लेले अनावश्यक प्रलोभनमा नपरी तोकिएको अवधिभित्र अभिलेखिकरण गरेर आफ्नो सम्पत्ति सुरक्षित बनाउन सबै नागरिकलाई आग्रह गरेको छ । उनले बैंक ऋण लिनुपर्ने बेला मात्रै नक्सा पास गर्ने प्रवृत्ति मौलाउँदै गएको उल्लेख गर्दै यसलाई निरुत्साहित गर्न नगरपालिकाले यो कदम चालेको बताए ।
त्यसैगरी वडा नं. १ का अध्यक्ष बलराम राउतले अभिलेखिकरणको यो अन्तिम अवसर गुमाए भविष्यमा समस्या निम्तिन सक्ने चेतावनी दिए । “नयाँ घर निर्माण गर्दा सुरुमा नै मापदण्डअनुसार बनाउनुपर्ने हो, तर नागरिकले अटेर गरेर नक्सा पास नगरी बनाउने प्रवृत्तिले भवन आचारसंहिता उल्लंघन हुने गरेको छ,” उनले भने ।
नगरपालिकाले समयमै नक्सा पास गरेर घर बनाउनेलाई तुलनात्मक रूपमा कम शुल्क लाग्ने जानकारीसमेत दिएको छ । तोकिएको अवधिभित्र अभिलेखिकरण नगर्ने घरधनीको घर अभिमुखिकरण समेत नगरपालिकाले नगर्ने चेतावनी दिएको छ ।

