रौतहट, ५ भदौं । रौतहटको चन्द्रनिगाहपुरमा राजयोगिनी दादी प्रकाशमणीको १८ औँ पुण्य स्मृतिमा विशेष रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र चन्द्रनिगाहपुरले आयोजना गर्ने उक्त कार्यक्रम आगामी भदौ ७ गते बिहान ७ बजेदेखि २ बजेसम्म ओमशान्ति भवनमा नेपाल रेडक्रस सोसाइटी रौतहटको प्राविधिक सहयोगमा सम्पन्न हुने बताइएको छ ।
आयोजकका अनुसार यस कार्यक्रमलाई ‘विश्व बन्धुत्वको उदात्त भावना प्रवद्र्धन’ गर्ने उद्देश्यसहित विश्वव्यापी स्तरमा सञ्चालन गर्न लागिएको छ । प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले सेवा विभागमार्फत आगामी भदौ ६ देखि ९ गतेसम्म १ सय घण्टाभित्र १ लाख लिटर रक्त संकलन गर्ने लक्ष्य राखेको छ, जुन नेपालमै नभई विश्वकै विशालतम् रक्तदान अभियान हुने अपेक्षा गरिएको छ ।
बिहिबार कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा ओमशान्ति चन्द्रनिगाहपुर शाखाकी प्रतिनिधि मइयाले रक्तदान जस्तो पवित्र कार्यमा सबैको सक्रिय सहयोग अपरिहार्य रहेको बताइन् । उनले रक्तदानले जीवन बचाउनुका साथै समाजमा मानवता र बन्धुत्वको भावना जागृत गर्ने विश्वास व्यक्त गरिन् ।
त्यस्तै, पर्सा, बारा र रौतहटका प्रमुख छोटेलालले रक्तदान समाजलाई प्रेरणा दिने अभियान भएकाले यसमा सबैलाई सहभागी हुन आग्रह गरे । उनले यस प्रकारका कार्यक्रमले अस्पतालहरूमा रगतको अभाव नहुने र आपतकालीन अवस्थामा जीवन बचाउन ठूलो मद्दत गर्ने बताए ।
सो अवसरमा समाजसेवी सपुत बहादुर कार्कीले रक्तदानले निरोगी जीवनको पहिचान बनाउन मद्दत गर्ने उल्लेख गर्दै अभियानलाई सफल बनाउन सबैलाई आह्वान गरे । उनले रक्तदानलाई पुण्यदायी र मानव जीवनप्रति जिम्मेवारीबोधको प्रतिकका रूपमा व्याख्या गरे ।
सोही कार्यक्रममा पत्रकार महासंघ रौतहटका अध्यक्ष संजय कार्कीले रक्तदान अभियानलाई समाजलाई मानवताको बाटोमा जोड्ने महत्वपूर्ण प्रयासका रूपमा व्याख्या गर्दै यस अभियानमा सञ्चारकर्मीहरूको समेत सक्रिय भूमिका रहने धारणा राखेको थियो।
पत्रकार सम्मेलनमा स्थानीय सञ्चारकर्मीको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ । रक्तदान अभियानलाई नेपाल रेडक्रस सोसाइटी, रोटरी क्लब, विभिन्न विश्वविद्यालय, कलेज तथा सामाजिक संस्थाहरूको सहकार्यमा सञ्चालन गरिने र यसले हजारौँ मानिसलाई जीवनदान दिने अपेक्षा आयोजकले व्यक्त गरेको छ ।

