रौतहट, ५ भदौं । नेकपा एमाले जिल्ला कमिटी रौतहटका अध्यक्ष सचिदानन्द साहले आफ्नै पार्टी कार्यालय निर्माणमा अनियमितता गरेको आरोप लागेको छ । रौतहटको मध्यभागमा रहेको गरुडास्थित तुलसीलाल स्मृति भवन पुनर्निर्माणका लागि मधेस प्रदेश सरकारले दिएको ४३ लाख रकमबाट साहले १० लाख पनि खर्च नगरी रकम हिनामिना गर्ने काम गरेको स्वयं नेकपा एमाले जिल्ला कमिटी सदस्यहरुले बताउँदै हिँड्न थालेका छन् । पुरानै भवन रंगरोगन तथा गेट निर्माणका लागि भन्दै गरुडा नगरपालिकाले समेत २० लाख रकम खर्च गरिसकेको छ । ४३ लाखको रकमबाट जिल्ला अध्यक्ष साहले भुइँमा ब्लक बिछ्याउने र यसभन्दा पहिले नगरपालिकाले सेतो पेन्ट गरेकोमा साहले अर्को पेन्ट गरेर रकम हिनामिना गरेको भन्दै चिया चर्चा हुन थालेको हो ।
नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि भौतिक पूर्वाधार मन्त्रालय मधेस प्रदेशले ४३ लाख रकम विनियोजन गरेको थियो । सोही रकममा नेकपा एमाले जिल्ला पार्टीका अध्यक्ष स्वयंले ¥याल काडेको भन्दै एमाले जनमा चर्चा परिचर्चा सुरु भएको छ । रकम नै खर्च नगरी बिल बनाएर पार्टी अध्यक्ष साहले रकम निकासा गरेको भन्दै नेकपा एमालेको केन्द्रीय कार्यालयमा उजुरी समेत परेको एमालेका एकजना जिल्ला कमिटी सदस्यले नाम उल्लेख नगर्ने सर्तमा बताए । पार्टी अध्यक्ष साहले उपभोक्ता समिति नै गोप्य रुपमा बनाई वडाबाट सिफारिस समेत नलि काम गरेको बताइएको समाचार स्रोतको दावी छ ।
साहले पूर्वाधार कार्यालयमा काम सम्पन्न भएको बिल भाउचर बुझाएका थिए । असार २५ गते सो उपभोक्ता समितिको खातामा रकम गएको थियो । तर,रकम खातामा जानासाथ एमालेका केही नेताहरुले त्यसको विरोध गर्दै पूर्वाधार कार्यालय गौरका प्रमुखलाई सोधपुछ गर्न थालेपछि पूर्वाधार कार्यालय गौरका प्रमुख दीपक कुमार मिश्राले बैंकमा पत्र लेखेर अर्को पत्र नगएसम्म सो रकम निकासा नगर्नु भन्ने पत्र पठाएपछि सो रकम हालसम्म निकासा हुन सकेको छैन । २६ लाख ९० हजार रुपैया बैंकमा रोक्का भएपनि केहीदिन पहिला ९ लाख रुपैयाँ अध्यक्ष सचिदानन्द साहले निकालेको बैंक स्रोतले जनाएको छ ।
गोप्य उपभोक्ता समिति बनाएर पार्टी अध्यक्षले नै अनियमितता गर्न खोजेको भन्दै एमाले भित्रै यतिबेला आरेप प्रतिआरोप सृजना भएको छ । अध्यक्ष साहले भने आफूले मधेस प्रदेशका भौतिक पूर्वाधार मन्त्री सरोज यादव सहितका सबैलाई मिलाइसकेका कारण रकम निकासा गरिदिन भन्दै पूर्वाधार कार्यालय गौरका प्रमुख मिश्रको कार्यालयमा धर्ना दिन थालेको समाचार स्रोतले जनाएको छ ।
नेकपा एमाले रौतहटका अध्यक्ष नै अवैध काम गर्न सक्रिय रहेको र उनलाई तत्काल कारबाही गर्नुपर्ने भन्दै एक हुल एमाले जिल्ला नेताहरुले नेकपा एमालेको मुख्यालय च्यासलमा गएर उजुरी समेत दर्ता गराएका छन् । यस विषयमा अध्यक्ष साहसँग बुझ्दा राजनितिक प्रतिशोध र भ्रामक कुरा मात्र रहेको बताए । कामै बिनाको भुक्तानी दिएको विषयमा पूर्वाधार विकास कार्यालय गौरका प्रमुख मिश्रसँग बुझ्न ९८५५०३१०२६ मा पटक पटक सम्पर्क गर्दा फोन उठेन ।
यता नेकपा एमालेका एक जिल्ला सदस्यले नाम न उल्लेख गर्ने शर्तमा पुर्वाधार कार्यालय गौरका प्रमुख मिश्र र जिल्ला अध्यक्ष साहको मिलोमतोमा यो अनियमिता भएको दावी गरेको छ ।

