रौतहट, ३ भदौ । वृन्दावन नगरपालिकाको प्रशासकीय भवन निर्माण कार्यमा नेकपा (एकीकृत समाजवादी) वृन्दावन नगर कमिटीले पूर्ण सहयोग गर्ने निर्णय गरेको छ। सोमबार बसेको पार्टीको विस्तारित बैठकले नगरपालिकाको यथास्थान (साविक स्थान) मै बन्न लागिएको प्रशासकीय भवन निर्माण प्रक्रियामा समर्थन जनाउँदै अन्य राजनीतिक दललाई समेत सहकार्य गर्न आह्वान गरेको हो।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, “प्रशासकीय भवन निर्माणको यो ऐतिहासिक कार्यलाई कुनै किसिमले पनि अवरोध नगरी सबै दल, बुद्धिजीवी, नागरिक समाज र जनप्रतिनिधिहरू मिलेर सफल बनाउन आवश्यक सहयोग पुर्याउनु पर्नेछ।”
नेकपा (एस) नगर कमिटी अध्यक्ष सुरेन्द्रप्रसाद पटेलले प्रशासकीय भवन निर्माणलाई नगरको विकास र जनहितसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएको उल्लेख गर्दै, १, २, ३ नम्बर वडाका साथै ४ देखि ९ नम्बर वडासम्मका जनता, बुद्धिजीवी, नागरिक समाज, दल र जनप्रतिनिधिहरूलाई पनि एकजुट भएर सहयोग गर्न आग्रह गरेका छन्।
उनले विशेषतः निर्माण प्रक्रियामा कुनै पनि व्यक्ति वा पक्षले अवरोध सिर्जना नगर्न र नगरपालिकाको भविष्यका लागि अत्यन्त महत्त्वपूर्ण मानिएको यो योजनामा सकारात्मक भूमिका खेल्न सबैलाई आह्वान गरेका छन् ।

