चन्द्रपुर नगरपालिकाले ल्यायो १ अर्ब २१ करोड ८० लाखको बजेट, १७ औँ नगर सभा सम्पन्न

चन्द्रपुर १० रौतहट
रौतहटको चन्द्रपुर नगरपालिकाको १७ औँ नगर सभा अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ । नगर सभाबाट आगामी आर्थिक वर्षका लागि १ अर्ब २१ करोड ८० लाख रुपैयाँ बराबरको अनुमानित बजेट विनियोजन गरिएको हो । नगर उपप्रमुख जयमाला चौधरीले सभामा प्रस्तुत गरेको बजेटअनुसार चालु खर्चतर्फ ८५ करोड रुपैयाँ तथा पुँजीगत खर्चतर्फ ३५ करोड ९३ लाख रुपैयाँ विनियोजन गरिएको छ । नगरपालिकाले प्रस्तुत गरेको बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सरसफाइ तथा सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकतामा राखिएको जनाइएको छ। बजेटले नगरको समग्र विकास र नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्ने लक्ष्य लिएको नगरपालिकाले जनाएको छ।
नगरसभामा विधायक समितिका संयोजक जितेन्द्र कुमार चौधरीले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसैगरी न्यायिक समितिकी सदस्य सचिव चन्द्रकला बरालले न्यायिक समितिको वार्षिक प्रतिवेदन पेश गर्दै समितिले सम्पादन गरेका कार्यहरूको विवरण सभासमक्ष प्रस्तुत गरेकी थिइन् । यसैबीच, नगरसभाले आगामी साउन १ गतेदेखि लागू हुने आर्थिक विधेयक समेत पारित गरेको छ। पारित विधेयकले नगरपालिकाको राजस्व संकलन, कर तथा शुल्क व्यवस्थापनलाई कानुनी आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।
नगरसभामा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो। आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयनसँगै चन्द्रपुर नगरपालिकाको विकासले थप गति लिने विश्वास व्यक्त गरिएको छ।

ताजा समाचार

Related Articles