रौतहट ९ असार
रौतहटमा पछिल्लो समय चोरीका घटनाहरू बढ्दै गएको अवस्थामा मौलापुर नगरपालिकामा सुरुङ खनेर गरिएको चोरीको घटना सार्वजनिक भएको छ । मौलापुर नगरपालिका–बौद्धापतौरा निवासी प्रमोद यादवको घरमा गएराति अज्ञात व्यक्तिहरूले सुरुङ खनेर प्रवेश गरी चोरी गरेका हुन् । चोरीको शैली असामान्य र योजनाबद्ध देखिएकाले स्थानीयवासीसमेत त्रसित बनेका छन् । घटनाबारे जानकारी प्राप्त भएपछि मौलापुर नगरपालिकाकी नगर प्रमुख रिनाकुमारी साह घटनास्थलमै पुगेर स्थलगत अवलोकन गर्नु भएको छ । उहाँले पीडित परिवारसँग भेटघाट गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सुरक्षा निकायलाई आग्रह गर्नुभएको बताइएको छ । स्थानीयका अनुसार पछिल्ला केही महिनायता रौतहटका विभिन्न स्थानमा घरमा चोरी, नगद तथा जिन्सी सामान लुटपाटका घटनाहरू बढिरहेका छन । सुरक्षाको अवस्था कमजोर बन्दै गएको भन्दै नागरिकहरूले चिन्ता व्यक्त गरेका छन् ।
यस घटनाले जिल्लामा बढ्दो चोरी नियन्त्रणका लागि सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ भने चोरीमा संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको बताइएको छ ।

