रुपेन्द्र पटेल
रौतहट, ९ असार । रौतहटका प्रमुख बजारमा यतिबेला स्वदेशी उत्पादनका आँपको आपूर्ति बढ्न थालेको छ । जिल्लाको गौर, गरुडा, समनपुर, कटहरिया, डुमरिया र चन्द्रनिगाहपुरलगायत बजारमा नेपाली आँप प्रशस्त मात्रामा बिक्रीका लागि राखिएपछि उपभोक्ताको आकर्षण बढेको व्यवसायीहरुले बताएका छन् ।
फलफूल व्यवसायीका अनुसार तराई–मधेशका विभिन्न जिल्लामा उत्पादन भएका मालदह, बम्बई, दसहरीलगायत जातका आँप बजारमा पर्याप्त मात्रामा आउन थालेका छन् । स्थानीय उत्पादन बजारमा भित्रिन थालेसँगै केही साताअघि भारतीय आँपको बाहुल्यता रहेको बजार अहिले नेपाली आँपले भरिन थालेको उनीहरुको भनाइ छ ।
गौरका फलफूल व्यवसायी रामबाबु साहले नेपाली आँप स्वादिलो र ताजा हुने भएकाले उपभोक्ताको रोजाइमा परेको बताउनुभयो । “स्वदेशी आँपको माग बढेको छ । बिहान ल्याएको आँप धेरैजसो साँझसम्म बिक्री भइसकेको हुन्छ,” उहाँले भन्नुभयो ।
वृन्दावनका उपभोक्ता रबिन्द्र पटेलका अनुसार बजारमा हाल आँप प्रतिकिलो ४० देखि १०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । उत्पादन बढ्दै जाँदा मूल्य उपभोक्ताको पहुँचभित्र रहेको उहाँको भनाइ छ ।
उपभोक्ताहरुले पनि नेपाली आँपप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् । चन्द्रनिगाहपुरकी सरिता श्रेष्ठले नेपाली आँपको स्वाद र सुगन्ध विशेष हुने भएकाले आफूले स्वदेशी उत्पादन नै रोज्ने गरेको बताउनुभयो ।
तराई मधेश आँप उत्पादनका दृष्टिले महत्त्वपूर्ण जिल्ला मानिन्छ । तराई मधेश विभिन्न जिल्लामा व्यावसायिक रुपमा आँप खेती हुँदै आएको छ । मधेश प्रदेशका जिल्लामा प्रत्येक वर्ष उल्लेख्य परिमाणमा आँप उत्पादन हुने गरेको छ ।
यद्यपि बजारमा कृत्रिम रुपमा पकाइएका आँप बिक्री हुने सम्भावनाप्रति सरोकारवालाले चासो व्यक्त गरेका छन् ।
उपभोक्ता हित संरक्षण मञ्च रौतहटका अध्यक्ष टिका घिमिरेले बजारबाट आँप खरिद गर्दा उपभोक्ताले यसको गुणस्तर, ताजापन तथा स्वास्थ्य सुरक्षाका पक्षमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । उहाँले कृत्रिम रूपमा पकाइएका वा रसायन प्रयोग गरिएका आँपले स्वास्थ्यमा असर पु¥याउन सक्ने भएकाले सचेत भएर मात्रै खरिद गर्न आग्रह गर्नुभयो ।
यता स्थानीय उत्पादनको आपूर्ति अझ बढ्ने अपेक्षा गरिएकाले आगामी केही सातासम्म रौतहटका बजारमा नेपाली आँपको वर्चस्व कायम रहने व्यवसायीहरुको अनुमान छ ।

