गढीमाईमा महिनावारी सम्बन्धी जनचेतनामूलक सडक नाटक प्रदर्शन

रौतहट ११,असार । रौतहटको गढीमाई नगरपालिका–१ मा महिनावारी सम्बन्धी जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ ।
सोडेक नेपाल को आयोजनामा तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, मधेस प्रदेश को सहयोगमा सम्पन्न कार्यक्रममा चन्द्रबिन्दु नाटक समूह, चन्द्रपुर–१० रौतहटले सडक नाटक प्रस्तुत गरेको थियो । नाटकमार्फत महिनावारी सम्बन्धी विद्यमान भ्रम, कुरीति तथा विभेद अन्त्य गर्दै समुदायमा सचेतना अभिवृद्धि गर्ने प्रयास गरिएको थियो ।
कार्यक्रममा बोल्दै सोडेक नेपाल चन्द्रपुर रौतहटका अध्यक्ष जयमंगल राय यादव ले महिनावारी महिलामा हुने प्राकृतिक जैविक प्रक्रिया भएकाले यसलाई लाज, डर वा विभेदको विषयका रूपमा लिन नहुने बताउनुभयो । उहाँले महिनावारी सम्बन्धी गलत धारणा हटाई सकारात्मक सोचको विकास गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।
चन्द्रबिन्दु नाटक समूहका अध्यक्ष राम किशोर साह ले सडक नाटक समाजमा जनचेतना फैलाउने प्रभावकारी माध्यम भएको बताउँदै यस्ता कार्यक्रमले समुदायमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । समूहका कार्यकारी निर्देशक सुनिल पासवान ले महिनावारी सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले नाटक प्रदर्शन गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै गढीमाई नगरपालिका–१ का वडा अध्यक्ष रामपुकार यादव ले महिनावारी सम्बन्धी विभेद र अन्धविश्वास हटाउन समुदायस्तरमा निरन्तर सचेतना आवश्यक रहेको बताउनुभयो । उहाँले यस्ता जनचेतनामूलक कार्यक्रमले सामाजिक परिवर्तनमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गर्नुभयो ।
सडक नाटकमार्फत महिनावारीका बेला अपनाउनुपर्ने सरसफाइ, किशोरी तथा महिलाप्रति सम्मानजनक व्यवहार, विद्यालय तथा सार्वजनिक जीवनमा उनीहरूको सहभागिता सुनिश्चित गर्नुपर्ने विषय तथा महिनावारीसँग जोडिएका भ्रम र कुरीतिहरू अन्त्य गर्नुपर्ने सन्देश प्रवाह गरिएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, महिला, युवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।

ताजा समाचार

Related Articles