गढीमाईमा स्वास्थ्य बिमा सम्बन्धी जनचेतनामूलक सडक नाटक प्रदर्शन

रौतहट ११,असार । रौतहटको गढीमाई नगरपालिका–८ मा समुदाय तथा विद्यालय लक्षित स्वास्थ्य बिमा सम्बन्धी जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ।
सृजनात्मक युवा क्लब, गढीमाई नगरपालिका–८, रौतहट को आयोजनामा तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, मधेश प्रदेश को सहयोगमा सम्पन्न कार्यक्रममा स्वास्थ्य बिमाको महत्व, आवश्यकता तथा यसबाट प्राप्त हुने सुविधाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सडक नाटक प्रस्तुत गरिएको थियो।
कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष सन्तलाल ठाकुर ले स्वास्थ्य बिमा नागरिकको स्वास्थ्य सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय भएकाले समुदायस्तरमा यसको बारेमा व्यापक जनचेतना आवश्यक रहेको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले सर्वसाधारणलाई स्वास्थ्य बिमाको महत्व बुझ्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।
सडक नाटकमार्फत आकस्मिक बिरामी, दुर्घटना तथा विभिन्न स्वास्थ्य समस्याका बेला स्वास्थ्य बिमाले उपचार खर्चको आर्थिक भार कम गर्न सहयोग गर्ने सन्देश प्रवाह गरिएको थियो। साथै स्वास्थ्य बिमामा आबद्ध हुँदा गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच स्थापित हुने विषयलाई समेत नाटकमा समेटिएको थियो।
नाटकमा स्वास्थ्य बिमाप्रति रहेको जानकारीको अभाव, उपचारका क्रममा परिवारले भोग्नुपर्ने आर्थिक कठिनाइ तथा स्वास्थ्य बिमाको उपयोगितालाई जीवन्त ढंगले प्रस्तुत गरिएको थियो। विद्यालयका विद्यार्थी, अभिभावक तथा समुदायका नागरिकलाई स्वास्थ्य बिमाको आवश्यकता र फाइदाबारे जानकारी गराइएको थियो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। जनचेतनामूलक सडक नाटकले स्वास्थ्य बिमाप्रति समुदायको चासो र सचेतना बढाउन महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूले बताएका छन्।

ताजा समाचार

Related Articles