रौतहट ३० साउन
रौतहटमा रासायनिक मल वितरणलाई प्रभावकारी बनाउन किसानहरुलाई किसान कार्ड वितरण गर्ने भएको छ । विहिबार जिल्ला प्रशासन कार्यालय रौतहटमा बसेको बैठकले रायासनिक मलको अभाव र कालो बजारीकरणका कारण किसानहरुले समयमा मल प्राप्त गर्न नसकेको गुनासो बढ्दै गएपछि किसान कार्डको वितरण गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्काले तराई पोष्टलाई जानकारी दिनु भयो । कृषि कार्यको सहजीकरणका लागि किसानको नाम, ठेगाना, कृषि बालीको क्षेत्रफल लगायतका विवरण समावेश भएको किसान कार्ड लागु गर्न सबै स्थानीय तहलाई परिपत्र गर्ने बैठकले निर्णय गरेको समेत खड्काले बताउनु भयो । मलको कृत्रिम अभाव रोक्न प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, उद्योग वाणिज्य संघ, कृषि ज्ञान केन्द्र, साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेडको प्रतिनिधि रहने गरी संयुक्त रुपमा अनुगमन गर्ने निर्णय गरेको खड्काले तराई पोष्टलाई जानकारी दिनु भयो । मललाई अबैध रुपमा बिक्री वितरण गर्ने , जम्मा खोरी गरी बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, नाफा खोरी गर्नेहरूमाथि कडा कानुनी कारबाही गर्ने समेत प्रमुख जिल्ला अधिकारि बिनोद कुमार खडकाले बताउनु भयो । कृषि ज्ञान केन्द्र रौतहटको संयोजकत्वमा साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेडको सहयोगमा युरिया, डीएपी र पोटास जस्ता रासायनिक मलको माग, आपूर्तिको विस्तृत विवरण र अभाव भइरहेको मलको वास्तविक अवस्था १५ दिनभित्र तयार गरी अर्को बैठकमा पेश गर्न जिल्ला प्रशासन कार्यालय रौतहटले निर्णय गरेको जनाएको छ । रासायनिक मल तोकिएको मूल्यभन्दा बढीमा बिक्री र सहकारी संस्था बाहेक अन्य निकायबाट हुने वितरणलाई पूर्णरूपमा निरुत्साहित गर्ने निर्णय भएको साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड रौतहतका कार्यालय प्रमुख बामदेव मिश्रले तराई पोष्टसँगको कुराकानीमा बताउनु भयो । बैठकमा जिल्ला प्रहरी कार्यालय रौतहट, रौतहट उद्योग वाणिज्य संघ रौतहट, ,चन्द्रपुर नगर उद्योग वाणिज्य संघ रौतहट , सशस्त्र प्रहरी बल, जिल्ला कृषि ज्ञान केन्द्र, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड तथा कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारीहरूको सहभागिता रहेको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासन फाँट प्रमुख रामनरेश साहले जानकारी दिनु भयो ।

