रौतहट २६ साउन
रौतहटको गुजरामा बैकले सामाजिक सुरक्षा भता समयमा वितरण नगर्दा स्थानियले नगरपालिकामा तालाबन्दी गरेको छ । गुजरा नगरपालिकाले गत असार १२ गते नै बैकमा सामाजिक सुरक्षा र बाल पोषण भता वापतको रकम बैकमा पठाएता पनि बैकले लाभग्राहीहरुलाई वितरणमा ढिला गरेपछि स्थानियले नगरपालिकामा ताला लगाएको सोही नगरपालिकाको वडा नम्बर ८ का वडा अध्यक्ष मोतिम मियाँ मन्सुरीले बताउनु भयो । स्थानिय लाभग्राहीको निरन्तर दबाबपछि एनआईसी एशिया बैँक सिमरा भवानीपुरले आइतबारबाट भता वितरणको तालिका सार्वजनिक गरेको थियो । प्रकासित तालिकामा वडा नम्बर ८ को बालपोषण भता वितरण भाद्र १ गतेबाट ६ गतेसम्म र सामाजिक सुरक्षा भता भाद्र १७ गतेदेखि २४ गतेसम्म वितरण गर्ने तालिका सार्वजनिक गरेको छ । सो वितरणप्रति स्थानियले चर्काे आक्रोस ब्यक्त गर्दै आइतबार स्थानियले नगरपालिकामा ताला लगाएका छन । समयमा सो रकम बैकले वितरण नगरेकाले लाभग्रहीहरुले तरकारी, औषध किन्न समेत रकम अभाव भएको स्थानीय रहमद खातुनको गुनासो रहेको छ । असार १२ गते नै बैंकमा रकम पठाइएको भएता पनि सेवाग्राहीलाई रकम नआएको बताउने, बैंक स्टेटमेन्ट माग्दा नदिने गरेको लगायतका भ्रामक कुरा बैंकले भन्ने गरेका कारण स्थानीय आफ्नो गुनासो नगरपालिकासँग पोखेको र विरोध स्वरुप तालाबन्दी गरेको गुजरा नगरपालिका पञ्जीकरण शाखा प्रमुख मोहम्मद मेराज अहमदले जानकारी दिनु भयो । नगरपालिकामा रहेको बैंकले समयमा सामाजिक सुरक्षा र बालपोषण भत्ताको रकम वितरणमा ढिलाइ गर्दा स्थानीयले तालाबन्दी गरेको प्रमुख प्रशासकीय अधिकृत उदय प्रसाद देवकोटाले स्वीकार्नु भएको छ । आक्रोशित स्थानीयलाई सम्झाई बुझाइ घर पठाएपछि ताल्चा खोलेर नगरपालिकाको दैनिक प्रशासनिक काम सुचारु गरिएको देवकोटाले जानकारी दिनुभयो । बैंकले आइतबारदेखि नगरपालिका अन्तर्गतको शाखासँगै चन्द्रनिगाहपुर, निजगढ र कोल्भीबाट सामाजिक सुरक्षा रकम र बालपोषण भत्ता वापतको रकम वितरण गर्न लागेको एनआइसी एशिया बैंक सिमरा भवानीपुर शाखा प्रमुख मोहम्मद सादाव प्रवेजको भनाई रहेको छ । शाखा प्रमुख प्रवेजका अनुसार बैंकमा नगरपालिकाको करिव आठ हजार लाभग्राही रहेको र एकै समयमा सबैलाई बाँड्न सम्भव नरहेको बताउनु भयो ।

