रौतहट, १३ असार
जिल्ला प्रशासन कार्यालय रौतहटले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व मोहरम को अवसरमा जिल्लावासी मुस्लिम समुदायलाई शुभकामना व्यक्त गर्दै पर्वलाई शान्तिपूर्ण, सभ्य र मर्यादित वातावरणमा मनाउन आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा जारी सूचनामा मोहरमका अवसरमा सार्वजनिक सडक, चोक तथा बस्तीमा बिना अनुमति घातक हतियार वा शस्त्र प्रदर्शन नगर्न, सवारी साधन तथा सर्वसाधारणको आवतजावतमा अवरोध सिर्जना नगर्न, चर्को ध्वनि प्रदूषण नगर्न तथा सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामा असर पुग्ने कुनै पनि गतिविधिमा संलग्न नहुन अनुरोध गरिएको छ।
यस्तै, मोहरम मनाइने क्षेत्रमा २०८३ साल असार १२ गतेदेखि १४ गतेसम्म मादक पदार्थको सेवन तथा बिक्री–वितरण नगर्न प्रशासनले आग्रह गरेको छ। पर्वलाई मर्यादित र सुरक्षित वातावरणमा सम्पन्न गराउन सबै पक्षको सहयोग आवश्यक रहेको प्रशासनको भनाइ छ।
सूचनामा कुनै पनि धर्मको आडमा सामाजिक सद्भाव, अमन–चयन र सार्वजनिक शान्ति भंग गर्ने, घातक हतियार प्रदर्शन गरी त्रास फैलाउने, लागुऔषध वा मादक पदार्थ सेवन गर्ने, धार्मिक आस्थामाथि प्रहार गर्ने वा यस्ता गतिविधिमा उक्साउने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ।
जिल्ला प्रशासन कार्यालयले नेपालका सबै धर्म, संस्कृति र परम्पराको सम्मान गर्दै प्रत्येक धार्मिक पर्वलाई सभ्य, अनुशासित तथा शान्तिपूर्ण वातावरणमा मनाउन सम्पूर्ण सरोकारवाला, धार्मिक अगुवा, स्थानीय तह, सुरक्षा निकाय तथा सर्वसाधारणसँग सहयोग र समन्वयको अपिल गरेको छ।

