चन्द्रपुर-६ मा गरिब तथा विपन्न परिवारलाई बाख्रा वितरण

रौतहट, १२ असार । रौतहटको चन्द्रपुर नगरपालिका–६ मा अति गरिब तथा विपन्न परिवारको आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले बाख्रा वितरण गरिएको छ । आइ एन नेटवर्क नेपालको आर्थिक सहयोग तथा चन्द्रपुर नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष सहदेव केसीको पहलमा २७ लाभग्राही परिवारलाई कुल ८१ वटा बाख्रा बीमासहित वितरण गरिएको हो ।
वडा अध्यक्ष सहदेव केसीले विपन्न परिवारको आयआर्जन बढाई आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले बाख्रापालनलाई व्यवसायिक रुपमा विकास गर्न आवश्यक प्राविधिक सहयोगसमेत उपलब्ध गराइने जानकारी दिनुभयो ।
बाख्रा प्राप्त गरेपछि लाभग्राही मिठु माया पहरीले आर्थिक अभावका कारण पशुपालन सुरु गर्न नसकेको अवस्थामा निःशुल्क बाख्रा पाउँदा ठूलो राहत मिलेको बताउनुभयो । उहाँले बाख्राको राम्रोसँग पालनपोषण गरी संख्या बढाएर परिवारको आम्दानीको स्रोत बनाउने योजना रहेको जानकारी दिनुभयो ।
यस्तै, फगुनी रायले बाख्राले आफ्नो परिवारको आर्थिक अवस्था सुधार्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
अर्की लाभग्राही मखमली कुस्वारले बाख्रा वितरण कार्यक्रमले विपन्न परिवारमा नयाँ उत्साह थपेको बताउनुभयो । उहाँले बाख्राको उचित स्याहार–सुसार गरी उत्पादन बढाउने र भविष्यमा व्यवसायिक रुपमा पशुपालन गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।
स्थानीयवासीका अनुसार यस्ता आयमूलक कार्यक्रमले विपन्न परिवारलाई राहत मात्र होइन, दीर्घकालीन रुपमा आत्मनिर्भर बन्ने आधारसमेत तयार पार्ने विश्वास गरिएको छ ।

ताजा समाचार

Related Articles