रौतहट २४ साउन
टेकान बस पार्कमा बस पार्क गर्न आउन छोडेपछि अहिले अलपत्र परेको छ । रौतहटको चन्द्रपुर नगरपालिकाकाको वडा नम्बर ४ टेकानमा बस पार्कमा केही समय बसहरु पार्किङमा ल्याएपछि सुरक्षाको कारण देखाउदै बस ब्यावसायीहरुले अहिले सो बस पार्कमा बसहरु लान छोडेका छन । जसले गर्दा बस पार्क प्रयोग विहिन बनेको छ । चन्द्रपुर नगरपालिकाले बस पार्कका लागि व्यवस्थित संरचना बनाएको भएपनि अहिले पूर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुर सडकमा नै पाकिङ्ग हुने गरेको पाइएको छ । २०६९ सालमा निर्माण गरिएको बसपार्क केही समय सञ्चालन भएपछि बन्द भएको छ । बन्द भएको बस पार्क संचालनका लागि चन्द्रपुर नगरपालिकाले कुनै चासो नदेखाएको टेकान टोल बासीको आरोप रहेको छ । बसपार्क निर्माण गरिएपछि उसै बेला तामझाम, बाजागाजासहित गाडीको लावा लस्कर लगाएर उद्घाटन गरिएको थियो । तर केही समय त्यहाँ गाडीहरू पार्किङ गरिएको भएपनि अहिले नहुँदा कुनै निकायले चासो नदिएको उनीहरुको भनाई छ । बस होल्डिङ सेन्टर र बन्द बसपार्क सञ्चालनमा ल्याउन पहल थालेको चन्द्रपुर नगरपालिकाले जनाउदै आएको छ । पूर्वको चाँदी पुल क्षेत्रमा बसको होल्डिङ सेन्टर निर्माण र टेकान टोलको अलपत्र बसपार्क सञ्चालनमा ल्याउन पहल थालेको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जय कुमार काफ्लेको दाबी रहेको छ । अलपत्र बसपार्क सञ्चालनका बारेमा अन्य निकायसँग पनि छलफल गर्ने काफ्लेले बताउनु भयो । आफ्नो पहिलो प्राथमिकता बस होल्डिङ सेन्टर र अलपत्र बसपार्क सञ्चालनमा ल्याउने बताउँदै आउनु भएका नगर प्रमुख काफ्लेको अहिले स्थानिय नागरिकहरुले आलोचना गर्न हुन थालेका छन । बसपार्क हुँदा हुँदै मुख्य चोक वरपर बसहरू राख्न थालेपछि नगरपालिकाको आलोचना हुन थालेको हो । चाँदी नदी छेउको सरकारी जमिनमा चारैतिरबाट तारबारले घेरेर बसपार्क निर्माण गरिएको थियो । बसपार्कमा अहिले एउटा पनि गाडी छैन, सुनसान जस्तै छ । बस पार्कमा झारपात र फोहरले भरिभराई देखिएको छ । सुरक्षाका कारण व्यवसायीहरू बसपार्कमा गाडी लैजान नमान्ने गरेको रौतहट बस व्यवसायी संघकाले जनाएको छ ।

