रौतहटका ५ स्थानिय तहमा बजेट ल्याउन छलफल गर्दै मन्त्रालयका टोली

रौतहट २३ साउन
रौतहटका ५ स्थानिय पालिकाले हालसम्म बजेट पेश नगरेकाले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको टोलीले सम्बन्धित पालिकाहरुसंग बजेट ल्याउने बिषयमा छलफल गरेको छ । रौतहटका ५ पालिकाहरुको मन्त्रालयको बेवसाइटमा कटहरिया नगरपालिका, दुर्गा भगवती गाउँपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका र यमुनामाइ गाउँपालिकाले बजेट नै पेश नगरेको रेकर्ड छ भने गौर नगरपालिका, गरुडा नगरपालिका, माधवनारायण नगरपालिका र वृन्दावन नगरपालिकाले सभाबाट बजेट पारित नगरेको रेकर्ड रहेको मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुलीले तराई पोष्टलाई बताउनु भयो । मन्त्रालयका सहसचिव काली प्रसाद पराजुली नेतृत्वको टोलीले साउन मसान्तसम्म सभामा बजेट पेश गरी पारित गराउन सहजीकरण गर्नु भएको फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवले बताउनु भयो । छलफलकै क्रममा साउन ३० गते सभा गर्ने बोर्ड बैठकले निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत यादवले जानकारी दिनु भएको छ । मन्त्रालयले सह सचिवको नेतृत्वमा टोली पालिकामा परिचालन गरेपछि मन्त्रालय र स्थानीय सरकारको समन्वय अझ राम्रो भएको कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले बताउनु भयो । सहसचिव पराजुली नेतृत्वको टोलीले फतुवा विजयपुर नगरपालिकासँगै, देवाही गोनाही नगरपालिका र मौलापुर नगरपालिकामा समेत छलफल गरेको छ । देवाही गोनाही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनन्जय प्रसाद दासले मन्त्रालयको टोलिसँग बृहत् रुपमा छलफल भएको बताउनु भयो । कार्यपालिका, नगर सभाका उपलब्ध सदस्य, स्थानीय प्रशासन, नगरपालिकाका कर्मचारी तथा स्थानीय सरोकारवाला समेतको सहभागितामा चाडोभन्दा चाडो सभा गर्ने बारे छलफल भएको प्रमुख प्रशासकीय अधिकृत दाशाले बताउनु भयो । छलफलमै शुक्रबार कार्यपालिका बैठक राख्ने र सहमति भए सभाको मिति तय गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत दासले जानकारी दिनु भयो । सहसचिव पराजुलीको टोलीमा मन्त्रालयका उपसचिवद्वय माधव प्रसाद ढकाल र तुलसी भट्टराईसँगै शाखा अधिकृत पवन गुप्ता रहनु भएको थियो । त्यस्तै मन्त्रालयका सहसचिव प्रकाश दाहाल नेतृत्वको टोली रौतहटको यमुनामाई गाउँपालिका र माधवानारायण नगरपालिकामा छलफलका लागि पुगेको थियो । यमुनामाइ गाउँपालिकामा गाउँपालिका अध्यक्ष जिल्ला बाहिर रहेकाले खासै छलफल हुन् नसकेको उपाध्यक्ष अनुराधा कुमारीले बताउनु भयो । माधवनारायण नगरपालिकाले असार ६ गते नै बजेट ल्याइसकेको मन्त्रालयको बेवसाइट समेतमा प्रविष्ट रहेको तर मन्त्रालयले लिस्टमा नाम राखेकोले नगरपालिकामा पुगेको शाखा अधिकृत प्रजना ढकालले जानकारी दिनुभयो । उक्त टोलीमा सह सचिव दाहाल, शाखा अधिकृत ढकालसँगै उपसचिवद्वय भोजराज घिमिरे र रेशम राज कंडेल सहभागी रहनु भएको छ । हालसम्म सभा हुन् नसकेको रौतहटको दुर्गा भगवती गाउँपालिकाको नाम मन्त्रालयले तयार पारेको लिस्टमा नरहेकोले मन्त्रालयको टोली दुर्गा भगवतीमा नगएको गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका समन्वय अधिकृत मनोज साहले बताउनु भयो । देशको मुख्य मन्त्रालयको रुपमा रहेको सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको काम कारबाही नै जिल्ला भ्रमणको नाममा भत्ता पकाउनु रहनु दुःखद रहेको दुर्गा भगवती गाउँपालिकाका स्थानीय बासिन्दाको गुनासो गरेको बताइएको छ ।

ताजा समाचार

Related Articles