रौतहट २३ साउन
रौतहटमा थारु समुदायको परम्परागत पर्म र ऐचोपैचो प्रथा जिवित नै रहेको पाइएको छ । समाजमा विभिन्न परिवर्तनहरु भएका छन तर थारु समुदायले आफ्नो परम्परागत ऐचोपैचो प्रथालाई भने जिवित नै राखेका छन । रौतहटको गुजरा नगरपालिकाको चोचा , रङपुर , भवानीवुर , दियालपुर , फतुवा विजयपुर नगरपालिकाको विजयपुर र चन्द्रपुर नगरपालिकाको मोथियाही , मोतिपुर , सन्तपुर र डुमरिया लगायतका स्थानहरुमा बसोवास गर्ने थारु समुदायमा प्रचलित सो प्रथा अहिले पनि प्रचलनमा रहेको पाइएको छ । पर्म एकले अर्काको काममा आलोपालो गरी सघाउने चलन र ऐचोपैचो भन्नाले कुनै सामान , अन्न , पैसा वा सहयोग अस्थायी रुपमा दिइने प्रचलन हो । केही समयपछि सोही अनुसारका बस्तु तथा सो बस्तु बराबर फिर्ता लिने दिने गर्ने गरिन्छ । यो प्रचलन थारू समुदायको परम्परागत आर्थिक व्यवस्थाको एउटा महत्वपूर्ण अंश मानिएको छ । “विशेषतः वैवाहिक कार्यक्रम, भोजभतेर, चाडपर्व र कृषि कार्यमा खसी, कुखुरा, चामल, तेल, दाल, नगद देखि श्रम र जनशक्ति समेत सापटी माग्ने र सापटीकर्तालाई आवश्यक परेको बखत फिर्ता गर्ने चलन अहिले पनि थारू समुदायमा चलिरहेको चन्द्रपुर नगरपालिकाका पूर्व नगर प्रमुख रामचन्द्र चौधरीले तराई पोष्टसँग बताउनु भयो । यस किसिमको प्रचलन अन्य समुदायमा पनि नभएको भने होइन तर समय परिवर्तनसँगै बिस्तारै यो चलन हराउँदै गएको पाइन्छ । यो प्रथाले विशेष गरी आर्थिक अवस्था कमजोर परिवारका लागि ठुलो राहत मिलेको फतुवा विजयपुर नगर कमिटीका पूर्व उपाध्यक्ष विजय चौधरीको भनाई रहेको छ । पर्म र ऐँचोपैँचो केवल लेनदेनको साधन मात्र होइन, सामाजिक एकता र सहकार्यको जीवन्त प्रमाण भएको चौधरीको भनाई रहेको छ । यस खालको प्रचलनले थारु समुदायभित्र विश्वास र आपसी सहयोगको भावना बलियो बनाएको चन्द्रपुर – ६ मोथियाहीका निर्माण व्यवसायी प्रेम चौधरीले बताउनु भयो । आर्थिक लेनदेन भन्दा बढी सामाजिक सम्बन्धमा आधारित उक्त परम्परा संरक्षण योग्य मौलिक सांस्कृतिक सम्पदा भएको थारू कल्याणकारी सभा रौतहटका सचिव प्रमोद चौधरीले बताउनु भयो ।

