सरकारले अनुदान कटौती गरेको बिरोधमा उखु किसानहरुले बाले टायर

रौतहट २१ साउन
महोतरी उखु कृषकहरुले चिनि मिलको मुल गेटमा टायर बालेर प्रदर्शन गरेका छन । सरकारले उखुमा दिँदै आएको अनुदान कटौती गरेको विरुद्धमा उखु कृषकहरुले टायर बालेर प्रदर्शन गरेका हुन । उखु उत्पादक कृषक संघ महोत्तरीको नेतृत्वमा ऐक्यबद्ध भएका किसानहरुले रामनगर स्थित एभरेष्ट चिनी मीलको मूल गेटमा बुधबार टायर बालेर विरोध जनाएका हुन । गत साउन १८ गते उखु किसानले प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका थिए । प्रदर्शनमा कृषकहरुले ‘किसानको माग पूरा गर, उखुको अनुदान फिर्ता गर, झुठो आश्वासन चाहिँदैन किसान मार्न पाइँदैन, किसान एकता जिन्दावाद’ जस्ता नारा लगाउनुका साथै प्ले कार्डहरु समेत बोकेका थिए । सरकारले चालु आर्थिक वर्ष ०८२÷८३ को बजेटमा उखुमा दिँदै आएको प्रति क्वीन्टल ७० रुपियाँ अनुदान कटौती गरेको विरोधमा उखु किसानले आन्दोलन गर्नुपरेको किसानहरुले बताएका छन । खडेरीले आक्रान्त किसानलाई राहत दिनुको साटो अनुदान पनि कट्टा गरेर सरकारले अन्याय गरेको उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेश सिंह कुशवहाले बताउनु भयो । उद्योगपतिले उखुको उचित मूल्य नदिएपनि ७० रुपियाँले उखु किसानलाई थोरै भएपनि राहत दिएकाले यो अनुदानले उखु खेतीप्रति किसानको भरोसा र उत्साहलाई जोगाइ राख्न सघाएको कुशवाहाको भनाई रहेको थियो । ‘‘मूल्य पनि नबढाउने र अनुदान पनि कटौती गरेपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको किसानहरुले जनाएका छन । अनुदान कटौतीका कारण महोत्तरीका मात्र १४ हजार ५३३ जना उखु कृषकलाई प्रत्यक्ष मारमा परेको उखु उत्पादक कृषक महासङ्घका केन्द्रीय सदस्य महाशङ्कर थिङले बताउनु भयो । कटौती गरेको अनुदान तुरुन्त फिर्ता गरेर किसानको आँसु पुछ्न सरकारसँग थिङले अपिल गर्नु भएको छ । आफ्नो माग पूरा नभए आगामी भदौ ८ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने उखु कृषकहरुले बताएका छन ।

ताजा समाचार

Related Articles