रौतहट २१ साउन
रौतहटको फतुवा विजयपुरमा मंगलबारबाट सुत्केरी महिलाहरुलाई स्तनपानको महत्वबारे सचेतना कार्यक्रमको थालनी भएको छ । फतुवा विजयपुर नगरपालिकाले विश्व स्तनपान सप्ताहका अवसरमा मङ्गलबारदेखि सुत्केरी महिलालाई स्तनपानको महत्वबारे सचेतना कार्यक्रम थालनी गरेको जनाएको छ । सो नगरपालिकाका ८ वटैका स्वास्थ्य संस्थाहरुमा एकै साथ सो सचेतना कार्यक्रमको शुरुवात गरिएको नगरपालिकाले जनाएको छ । विश्व स्तनपान सप्ताहमा सुनौलो हजार दिन कार्यक्रम अन्तर्गत स्तनपान गराउने आमालाई स्तनपानको महत्वबारे चेतना अभिवृद्धि गर्न कार्यक्रम थालिएको नगरपालिकाको भनाई रहेको छ । फतुवा विजयपुर नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरको उक्त कार्यक्रममा जीवित शिशु जन्मिएको एक घण्टा भित्रै आमाको पहिलो बिगौती दुध खुवाउनु पर्ने, शिशु छ महिनाको हुँदा सम्म आमाको मात्र दुध खुवाउने र छ महिनापछि स्तनपानसँगै फलफूल, लिटो, गेडागुडीको झोल जस्ता पौष्टिक आहार खुवाउनु पर्ने सन्देश दिइएको स्वास्थ्य संयोजक रमेश प्रसाद यादवले तराई पोष्टलाई बताउनु भयो । सो नगरपालिकाका कार्यवाहक प्रमुख अम्बेया खातुनले स्तनपान सप्ताह कार्यक्रमले मधेशका महिलालाई आफ्नो शिशुको स्वास्थ्य प्रति सचेत र गम्भीर बनाउन सहयोग पु¥याउने र मातृत्व स्वास्थ्य र शिशुको वृद्धि विकासमा समेत ठुलो टेवा पुग्ने बताउनु भयो । स्वस्थ आमा र स्वस्थ बच्चा समाजको आधार हुने भएकाले नगरपालिकाबाट यस प्रकारको सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने खातुनले बताउनु भयो । स्तनपान सप्ताह साउन १६ देखि २२ गतेसम्म मनाइने भएपनि प्राविधिक कारणले गर्दा कार्यक्रम ढिलो सञ्चालनमा आएको उहाले बताउनु भयो । कार्यक्रममा सहभागी तीन महिने सुत्केरी नम्रता साहले सचेतना मूलक स्तनपान कार्यक्रमबाट आफूले शिशु स्याहार सम्बन्धी नयाँ कुरा सिकेको बताउनु भयो ।

