रौतहटको बागमतिमा जल लिन आएका २ भारतीय नागरिकको डुबेर मृत्यु

रौतहट १२ साउन । रौतहटको बागमति नदीमा डुबेर दुई भारतीय नागरीकको मृत्यु भएको छ । साउनमा शिवलाई जल चढाउन जल लिन आएका दुई भारतीय युवकको रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । बागमति नदीमा डुबेर बेपत्ता भएका एक युवकको शव घटना भएको तीन दिनपछि मात्रै आइतबार फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । भारतको बिहार राज्यको ग्राम घुरघुरा घर भएका २४ वर्षीय नितिश कुमार राउत सहित दुई जना साउन ९ गते बेलुका ७ बजे बागमती नदीमा नुहाइ सकेपछि जल भरिरहेको अवस्थामा अचानक बेपत्ता भएको स्थानियले बताएका थिए । सो घटनाको स्थानियले प्रहरीलाई जानकारी दिएका थिए । जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र सशस्त्र प्रहरी बेस क्याम्प सन्तपुरको संयुक्त टोलीले खोज तलास गरेको थियो । प्रहरीले आइतबार चन्द्रपुर नगरपालिका–१ गोपालकुटीस्थित बागमती सिँचाइ आयोजनाको मुख्य नहर (हेड वर्क्स ब्यारेज) को पश्चिम साइडको ‘एच’ नम्बर गेटमा राउतको शव फेला पारेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले तराई पोष्टसँग बताउनु भयो । त्यसैगरि बेपत्ता भएका दुई मध्ये बिहारको सीतामढी जिल्ला ग्राम जमुआहा–१ पञ्चायत मठियाका बर्ष १४ का पवन कुमार साहको शव शनिबार झोलुङ्गे पुल नजिकै, घटनास्थलदेखि करिब १५० मिटर दक्षिण तैरिरहेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी प्रवक्ता रायले जानकारी दिनु भयो । प्रहरीको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई चन्द्रपुरस्थित अस्पतालमा राखेको जनाएको छ । साउन महिनामा मधेसका जिल्लाहरूका साथै सीमावर्ती गाउँका हजारौँ भारतीय तीर्थालु नुनथरघाट बागमती नदीबाट जल लिएर शिव मन्दिरहरूमा जल चढाउन जाने गरेका छन ।

ताजा समाचार

Related Articles