१० बर्षमा पनि खानेपानी आयोजना बन्न नसक्दा आर्सनिकयुक्त पानी पिउदै जुडिबेलाका स्थानिय

रौतहट १२ साउन । रौतहटको जुडिबेलामा १० बर्षमा पनि खानेपानी आयोजना सम्पन्न नहुदा स्थानियले आर्सनिकयुक्त पानी पिउन बाध्य भएका छन । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर २ मा रहेको खानेपानी आयोजनाको काम १० बर्ष हुदा पनि सम्पन्न हुन सकेको छैन । जुडिबेलाका २५०० घरका करिब १० हजार नागरिकहरुलाई सो आयोजनाले शुद्ध पानी उपलब्ध गराउने स्थानियले बताएका छन । रौतहटको चन्द्रपुर नगरपालिकाका प्रत्येक वडामा शुद्ध खानेपानी आयोजना सञ्चालनमा आइसकेका छन । तर चन्द्रपुरको वडा नं २ जुडिबेलामा अहिलेसम्म शुद्ध खानेपानीको लागी सञ्चालनमा रहेको खानेपानी आयोजना सम्पन्न हुन नसक्दा त्यहाको स्थानियले शुद्ध खानेपानी पिउन पाएका छैनन । २०७२ सालबाट जुडिबेलामा खानेपानी आयोजनाको निर्माण कार्य सुरु गरेको भएतापनि उक्त आयोजनाको अहिले सम्म ५५ प्रतिशत मात्र भौतिक प्रगति भएको सर्लाहीस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आयोजना सुरु भएको १० वर्ष बित्दा पनि सम्पन्न हुन नसक्दा स्थानीय समस्यामा परेका जुडिबेला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष भोला थपलियाले तराई पोष्टलाई बताउनु भयो । हाल यस क्षेत्रका नागरिकहरुले ३० देखि ५० फिटमुनिको आर्सनिकयुक्त पानी पिइरहेको जनाइएको छ । सो वडाको घरघरमा धारा पुर्याउनका लागी अझै करिब ३५ किलोमिटर मेन लाइन पाइपको आवश्यकता रहेको समितिका सदस्य टेकनाथ खरेलले जानकारी दिनु भयो । फूलबारीबाट वनटोल र रैयाटोल सम्मका नागरिकको घरघरमा पानी पुर्याउनका लागि मेन लाइनको पाइप अत्याश्यक रहेको उहाँले बताउनु भयो । आर्थिक वर्ष २०८०÷८१ सम्म उक्त आयोजनाको ५५ प्रतिशत काम सम्पन्न भइसकेको सो आयोजना हेर्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनियर विवेक झाको भनाइ रहेको छ । अहिलेसम्म जुडिबेला खानेपानी आयोजनामा चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की निर्माण सम्पन्न भएको तर ट्याङ्की निर्माण गर्ने ठेकेदारको ५४ लाख भुक्तानी हुन नसकेको इञ्जिनियर झाले बताउनु भयो । आयोजना अन्तर्गत डिप बोरिङ जडान, कार्यालय भवन निमार्ण, विद्युतीकरण, पम्प हाउस निर्माण तथा करिब २७ किलोमिटर मेन लाइनको पाइप गाडि सकिएको उहाँले जानकारी दिनु भयो । बजेट अभावका कारण मेन लाइनको पाइप खरिद गर्न नसक्दा काम ठप्प भएको इन्जिनियरले बताउनु भयो । सो आयोजना सम्पन्न गर्नका लागि अझै अनुमानित दुई करोड बजेट लाग्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले मधेस प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयलाई गत भदौ १४ गते पठाएको पत्रमा उल्लेख गरेको छ ।

ताजा समाचार

Related Articles