सडक सुरक्षाका लागि रौतहटमा ७० जना चालकको स्वास्थ्य परीक्षण

रुपेन्द्र पटेल
रौतहट, ८ असार । रौतहटमा सञ्चालन भइरहेको ट्राफिक जनचेतनामूलक सप्ताहअन्तर्गत छैटौँ दिन सवारी चालक तथा सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट र चन्द्रनिगाहपुर अस्पताल प्रालिको संयुक्त आयोजनामा सोमबार आयोजित स्वास्थ्य शिविरमा पूर्व–पश्चिम राजमार्गमा चल्ने सवारीसाधनका चालकहरुको स्वास्थ्य अवस्था परीक्षण गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरका अनुसार शिविरमा लामो दूरीका ७० जना चालक तथा सहचालकको सुगर, रक्तचाप, कान तथा आँखाको निःशुल्क परीक्षण गरिएको थियो ।
चन्द्रनिगाहपुर स्थित ट्राफिक कार्यालय आगाडी आयोजना गरिएको स्वास्थ्य परीक्षणका क्रममा तीन जना चालक लागूऔषध सेवन गरेको अवस्थामा फेला परेको उहाँले जानकारी दिनुभयो । ती चालकहरुले चलाइरहेका सवारीसाधन नियन्त्रणमा लिइएको र ट्राफिक नियमअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो ।
प्रहरी निरीक्षक थापा मगरले चालकको स्वास्थ्य अवस्था र सचेतनाले सडक सुरक्षामा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको बताउनुभयो । नियमित स्वास्थ्य परीक्षणले दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुग्ने उहाँको भनाइ छ ।
ट्राफिक जनचेतनामूलक सप्ताह २०८३ अन्तर्गत यसअघि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यातायात व्यवस्था कार्यालयको प्राविधिक टोलीसहित सवारीसाधनको मेकानिकल परीक्षण, सार्वजनिक बसमा सिट क्षमताभन्दा बढी यात्रु राखे–नराखेको अनुगमन, आरक्षण सिट कार्यान्वयनको अवस्था मूल्याङ्कन तथा भाडादर अनुगमन गरिएको छ ।
यसैगरी चालक, सहचालक तथा यात्रुलाई लक्षित गरी पर्चा–पम्पलेट वितरण, सवारीसाधनमा जनचेतनामूलक स्टिकर टाँस्ने, बजार तथा चोक–चौराहामा जिङ्गल प्रसारण गरी ट्राफिक नियमको पालना सम्बन्धी सन्देश प्रवाह गर्ने कार्यक्रमसमेत सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।
सडक दुर्घटना न्यूनीकरण, सुरक्षित यात्रा प्रवर्द्धन तथा ट्राफिक नियमप्रति नागरिकको सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles