रुपेन्द्र पटेल
रौतहट,६ साउन । रौतहटको प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजा बरामद भएको छ । चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको ग ३ च ६८९६ नम्बरको ब्रेजा कारबाट इलाका प्रहरी कार्यालय गरुडाको टोलीले १ क्विन्टल ३३ किलो गाँजा बरामद गरेको हो ।
सोमबार बिहान चेकजाँचको क्रममा प्रहरीलाई देखेपछि कार चालकले रोकिनुको सट्टा गाडी हुक्याउँदै भागेका थिए । इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको टोलीले पछ्याउँदै जाँदा झाझपुलस्थित सडकछेउको करिब २० फिट गहिरो खाल्डोमा कार छोडेर चालक फरार भएका थिए ।
त्यसपछि क्रेनको सहाराले गाडीलाई खाल्डोबाट निकालिएको र गाडीभित्र लुकाइ राखिएको गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले जानकारी दिए । उनका अनुसार बरामद गरिएको १ सय ३३ किलो गाँजा र गाडी हाल प्रहरी नियन्त्रणमा छ ।
डिएसपी कार्कीका अनुसार फरार चालकको खोजी तीव्र पारिएको छ भने घटनासँग संलग्न सम्भावित व्यक्ति र गिरोहको पहिचान गर्न अनुसन्धान जारी रहेको छ ।
गाडी नम्बर र बरामद सामाग्रीको आधारमा लागू औषध कारोबारीहरूको सञ्जाल पत्ता लगाउनेतर्फ हामी गहिरो अनुसन्धानमा लागिरहेका छौं, डिएसपी कार्कीले भने ।
एकै पटक ठूलो परिमाणमा गाँजा बरामद गर्न सफल भएपछि गरुडा प्रहरीले उल्लेखनीय सफलता हासिल गरेको स्थानीयहरूले बताएका छन् । पछिल्लो समय सीमावर्ती क्षेत्रमा लागुऔषध ओसारपसार बढिरहेको सन्दर्भमा प्रहरीले चेकजाँचलाई थप कडा बनाएको छ ।

