रौतहट, ३ साउन । रौतहटको गरुडामा शुक्रबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
चन्द्रनिगाहपुर–गौर बिरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडिया चोकमा ना ५ च १५८ नम्बरको पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा परी मृत्यु हुनेमा माधवनारायण गाउँपालिका–२ निवासी ४० वर्षीय दिनानाथ साह रहेका छन्। उनी चपुरबाट गरुडातर्फ आइरहेको बीआर ३० यू ४४१४ नम्बरको मोटरसाइकल चलाइरहेका थिए। उनको बेटर नेपाल अस्पताल, गरुडामा उपचारका क्रममा निधन भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन कार्कीले जानकारी दिए।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार रहेका गरुडा–८ जिगडिया निवासी २५ वर्षीय शम्भु साह घाइते भएका छन्। उनको दायाँ खुट्टा र बायाँ हातमा चोट लागेको छ र हाल गरुडास्थित अनामिका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि पिकअप भ्यानका चालक फरार रहेका छन्। यद्यपि, दुर्घटनामा संलग्न पिकअप भ्यान र मोटरसाइकल दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी कार्कीले बताए ।

