वृन्दावन नगरपालिकाले ल्यायो ५७ करोडभन्दा बढी बजेट

रुपेन्द्र पटेल
रौतहट, ३० असार । विवाद, घेराबन्दी र अदालतको आदेशको बीचमा अल्झिएको रौतहटको वृन्दावन नगरपालिकाको ९औं नगरसभा अन्ततः शान्तिपूर्ण र भव्य रूपमा सम्पन्न भएको छ।
वृन्दावन नगरपालिका–६, हर्षाहा स्थित बतहु माध्यमिक विद्यालयको प्राङ्गणमा सोमबार आयोजित बजेट अधिवेशन उत्साहजनक जनप्रतिनिधि सहभागिता र सकारात्मक वातावरणमा सम्पन्न भयो।
संविधानसभा सदस्य एवं नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय नेता रामकुमार भट्टराईको प्रमुख आतिथ्य र नगर प्रमुख विनोद प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो।
आगामी वर्षका लागि वृन्दावन नगरपालिकाले ५७ करोड ७ लाख ७८ हजार ३३५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। योजना तर्जुमा समितिका कार्यवाहक सभापति तथा वडा नम्बर ८ का अध्यक्ष जगन्नाथ भेडियरले नीति, कार्यक्रमसहितको अनुमानित बजेट प्रस्तुत गरेका थिए ।
नगरसभा सम्पन्न भइसकेपछि नगर प्रमुख कुर्मीले विपक्षी पक्षले चौतर्फी अवरोध, षड्यन्त्र र कानुनी अड्चन खडा गरे पनि नगरवासीको अपेक्षा र विकासको मार्ग रोक्न नदिइएको दाबी गरे। “विकासको ढोका खोल्ने उद्देश्यले नगरसभा सफलतापूर्वक सम्पन्न गरेका छौं,” उनले भने।
नगर प्रमुख कुर्मीले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र पूर्वाधार निर्माणजस्ता जनताको जीवनस्तरसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रहरूमा विशेष ध्यान दिइएको जनमुखी कार्यक्रम बजेटमा समावेश गरिएको जानकारी दिए ।
विपक्षतर्फबाट उपमेयर संगीता देवी राम भने अधिवेशनमा सहभागी भइनन् । उनले बजेट अधिवेशन बोलाउँदा कानुनी प्रक्रिया नअपनाइएको आरोप लगाउँदै सहभागी हुन अस्वीकार गरेकी हुन् । यसअघि उनले अधिवेशन रोक्न माग गर्दै दुईपटक अदालतमा रिट पनि दायर गरेकी थिइन् ।
पहिलो पटक असार १० गते नगरसभा गर्न लागिएकोमा उपमेयर रामको रिटका कारण अदालतको आदेशअनुसार सभा स्थगित भएको थियो। दोस्रोपटक असार २६ गतेको प्रयास पनि सर्वोच्च अदालतको रोक आदेशले फेरि स्थगित भयो ।
नगरसभाको सफलतामा प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेलको भूमिका उल्लेखनीय रहेको जनाइएको छ। मेयर र उपमेयरबीचको द्वन्द्व मिलाउन र अन्य जनप्रतिनिधिहरूको चित्त बुझाउन उनले निरन्तर पहल गरेका थिए। अन्ततः समयमै नगरसभा सम्पन्न भएकोमा प्रमुख प्रशासकीय अधिकृतको मेहनत निर्णायक देखिएको सहभागीहरूको भनाइ छ ।
कार्यक्रममा डिएसपी राजन कार्की, अधिकांश वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, पत्रकार तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन वृन्दावन नगरपालिकाका न्यायिक अधिकृत हरि दुलालले गरेका थिए ।

ताजा समाचार

Related Articles