रौतहट,२९ असार । जिल्लाको गरुडा नगरपालिका–९ श्रीपुरस्थित श्री माध्यमिक विद्यालय तनावग्रस्त बनेको छ । विद्यालयका एक शिक्षकमाथि आफ्नै छात्रालाई आपत्तिजनक सन्देश पठाएको आरोप लागेपछि स्थानीयले आक्रोश व्यक्त गर्दै विद्यालय तोडफोड गरेका छन् ।
विद्यालयका सामाजिक शिक्षा शिक्षक रवीन्द्र प्रसाद साहले एक छात्रालाई ‘ह्याप्पी बर्थ डे मेरी जान’ लेखिएको सन्देश पठाएको भन्दै विद्यार्थी र अभिभावक आक्रोशित बनेका थिए । घटनापछि साहमाथि कुटपिटसमेत गरिएको छ ।
आइतबार विद्यालय परिसरमै आक्रोशित भिडले तोडफोड गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको थियो । घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक ओमप्रकाश यादवको टोली घटनास्थल पुगेको थियो । भिड नियन्त्रण गर्न प्रहरीले एक राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले शिक्षक रवीन्द्र साहलाई नियन्त्रणमा लिएको पुष्टि गरेका छन् । उनले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

